१ मंसिर २०८३, मंगलबार

लोकमानको महाभियोगबारे नयाँ खुलासा, कांग्रेस–माओवादी कै नेताहरू चकित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanun-okilकाठमाडौं, ४ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका नेता एनपी साउदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनेबारेमा आफ्नो पार्टीले अहिलेसम्म कुनै छलफल नै नगरेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले कार्कीलाई महाभियोग लगाउनेबारेमा पार्टीभित्र छलफल नभएको र अहिले दर्ता भएको प्रस्तावमा कुनै संलग्नता नै नरहेको स्पष्ट पारे ।

उनले भने, ‘महाभियोगबारेमा अहिलेसम्म नीतिगत तथा संस्थागत निर्णय भएको छैन, हामी औपचारिक रुपमा छलफल गरेरमात्रै यसबारेमा निर्णय गर्छौं ।’

एमालेका सचिव प्रदीप ज्ञवालीले अख्तियार प्रमुख कार्कीविरुद्धको महाभियोग प्रस्ताव स्वागतयोग्य भएकोले यसलाई निश्कर्षमा पुगाउन आफ्नो पार्टीले पूर्ण रुपमा सहयोग गर्ने स्पष्ट पारे । उनले भने, ‘यो प्रस्तावलाई किनारा लगाउनुपर्छ, यसको लागि एमलेले साथ दिन्छ ।’

अख्तियार प्रमुखको नियुक्तीलाई लिएर आफ्नो पार्टीले सुरुवातदेखि नै विरोध गरेको उल्लेख गर्दै सचिव ज्ञवालीले भने, ‘लोकमान सिंह कार्कीको नियुक्ति नै कानूनसम्मत् थिएन, जनआन्दोलन दबाउने र परिवर्तन आत्मसात् गर्न नसक्ने व्यक्ति कसरी अख्तियार प्रमुख बन्न सक्छन्, उनको योग्यता नै पुग्दैन्थ्यो ।’

ज्ञवालीले कार्कीले पूर्वाग्रही राखेर काम गरेको, भ्रष्टाचारीहरुलाई उल्टै संरक्षण गरेको र लोकतन्त्रलाई लोकमानतन्त्र बनाउन खोजेको आरोप लगाए ।

माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले अख्तियार प्रमुख कार्कीविरुद्ध ल्याइएको महाभियोगको प्रस्ताव पार्टीमा छलफल नगरी ल्याइएको स्पष्ट पारे ।

शाहीले भने, ‘हामीले सांसदको स्वतन्त्र अधिकारको उपयोग गरेर यो प्रस्ताव ल्याएका हौं, मुलुकमा कानूनी शासनको निहिता रहनुहुँदैन भनेर हामीले स्वतन्त्र अधिकार प्रयोग गरेका छौं ।’

शाहीले अख्तियार प्रमुख कार्कीले आफ्नो कार्यक्षेत्र नाघेर पूर्वाग्रही ढंगले काम गरेको आरो लगाउँदै भने, ‘संसदको निर्देशन उल्लंघन गर्ने काम भयो, उहाँले समितिलाई समेत छल्ने काम गर्नुभयो, समितिले बोलाउँदा उहाँ नआउने, बिरामी भएको नाटक पार्ने तर त्यही दिन अर्को कार्यक्रममा जाने ? यो उहाँको गलत नियत थियो भन्ने कुरा प्रमाणित हुन्छ ।’

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले अख्तियार प्रमुख कार्कीमाथि महाभियोगको प्रस्ताव दर्ता भैसकेकोले नैतिकताका आधारमा कि राजीनामा दिनुपर्ने कि प्रस्ताव फेस गर्नुपर्ने दुई वटा विकल्प रहेको बताए ।

प्रमुख सचेतक गिरीले लोकतन्त्रलाई बलियो बनाउनको लागि भ्रष्टाचार निर्मुल पार्नुपर्ने बताए । उनले अख्तियार प्रमुख कार्कीले भ्रष्टाचार न्यूनीकरणको लागि महत्वपूर्ण कामहरु गरेको स्मरण गर्दै भने, ‘उहाँले भैष्टाचार रोक्नको लागि महत्वपूर्ण कदम चाल्नुभएको थियो, उहाँको काम गराईले धेरैमा तरंग पैदा भएको थियो, हामीले सुशासन समितिमा बोलाएर सानो माछा मात्रै नभएर ठूलै ह्वेल माछा समात्न समेत भनेका थियौं ।’

मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले प्रमुख पार्टीका चार ठेकेदारको मुद्दा हट्यो भने महाभियोग प्रस्ताव तुहिने ठोकुवा गरेका छन् ।

सद्भावना पार्टीका सह–अध्यक्ष समेत रहेका नेता कर्णले महाभियोग समिति गठन गर्दा पनि कांग्रेस, एमाले, माओवादी केन्द्रले ठेकेदारी देखाएको अरोप लगाउँदै भने, ‘अरु दल छैन, यो देशमा, यी चार पार्टीले जे चाह्यो त्यही हुने ? यो कस्तो ठेकेदारी हो ?’ कर्णले यसअघि पनि सुशासन समिति गठन गर्दा यस्तै दादागिरी प्रमुख दलहरुले गरेको गुनासो पोखे ।