रत्ननगर २१ असोज । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनको एजेन्डा अगाडि सारेको सरकारको कुरा पत्यार लाग्दो नभएको बताएका छन् ।
सरकार भित्रकै दलहरुको आपसी विवादका बीच रहेको संविधान संसोधनको लागि सत्ता पक्षबाट आउने एजेण्डा पछि एमालेले आफनो निर्णय दिने बताए । ‘ढाँटको निम्तो खाई पत्याउनु’ भने जस्तो गर्छु( गर्छु भन्नेको ताकत हेर्ने समय आएको समेत उनले बताए । एमालेका स्थायी कमिटी सदस्य समेत रहेका पाण्डेले मधेशी दलहरुबीच नै सीमा निर्धारणको विषयमा विवाद रहेको बताए ।
नेकपा एमाले कालिका नगरपालिका सात नम्वर वडा कमिटिले आज शुक्रबार जमुनापुरमा आयोजना गरेको विजया दशमी तथा दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता पाण्डेले नेकपा माओवादी केन्द्र र कांग्रेसभित्र सीमा निर्धारणको विषयमा आन्तरिक कलह रहेको खुलासा गरे । ‘माओवादी केन्द्र त झन जुवाडे जस्तो छ जता जेमा पनि जुवा थापे जस्तो थाप्न तयार हुन्छ’, उनले भने । नयाँ शक्ति पार्टीतर्फ लक्षीत गदै पाण्डेले मधेसी, जनजाति र बाहुन क्षेत्रीले भागबण्डा गरि देश चलाउनुपर्छ भन्नेहरु कम्यूनिस्ट हुन नसक्ने उनले बताए ।
समावेशी र समानुपातिक ढङगले देश विकास सम्भव भएको भन्दै पाण्डेले एमालेको यो नीतिमा सबै नेपाली प्रष्ट हुनुपर्ने बताए । स्थानीय निर्वाचन छिटोभन्दा छिटो हुनुपर्नेमा एमाले प्रतिबद्ध रहेको भन्दै केन्द्र, प्रदेश र स्थानिय तह स्वायत्त भई काम गरेमा देशको आर्थिक विकास संभव भएको उनले बताए ।
पूर्व अर्थमन्त्री समेत रहेको एमाले नेता पाण्डेले अब एमाले समृद्धिको यात्रामा लागेकोले देशको अर्थतन्त्र सबल र समृद्ध बनाउन एमालेले मात्र सक्ने बताए ।
वडा अध्यक्ष होम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र पार्टी परित्याग गरि बुद्धि अधिकारी, राजेन्द्र श्रेष्ठ र हिमाल तामाङ, लक्ष्मण बोटे लगायतका व्यक्तिहरु एमालेमा प्रवेश गरेका थिए ।
सो कार्यक्रममा एमाले जिल्ला सचिव तेजेन्द्र बहादुर खड्काका जिल्ला कमिटि सदस्य विनोद रेग्मी, क्षेत्रीय सदस्य दिपक लामिछाने, वडा सचिव हरिप्रसाद दंगाल, रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्ष राजाराम रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।












प्रतिक्रिया