३० कार्तिक २०८३, सोमबार

बुद्धिजीवीहरु भन्छन्- देउवा सभापति भएपछि काँग्रेसभित्र गुटबन्दी झन बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba

काठमाडौं, १९ असोज । सरकारभन्दा पनि सरकारी कार्यक्रम लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर हुँदा आर्थिक समृद्धि हुन नसकेको बुद्धिजीवीहरुले बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजद्धारा मंगलबार आयोजित “वर्तमान अवस्थाप्रति प्रजातान्त्रिक समाजको दृष्टिकोण” बिषयक अन्तक्र्रियाका सहभागीले राजनीतिक क्रान्तिको सफलतापछि आर्थिक एजेण्डा सहितको विकास कार्यक्रममा ध्यान दिन नसक्दा आर्थिक विकासले गति लिन नसकेको बताए ।

उनीहरुले नेपाली काँग्रेसले सहमति, सहकार्य र एकताको नाममा सिद्धान्त विर्सदै गएको र पार्टीभित्र आन्तरिक लोकतान्त्रिक संस्कृतिको सट्टा गुटवन्दी बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले लोकतान्त्रिक व्यवस्थामा राज्य र राजनीतिक दलमा व्यक्तिभन्दा संस्था, संयन्त्र र लोकतान्त्रिक संस्कृति सुदृढ हुन नसक्दा विकास निर्माण, सुशासन र राज्यले दिने सेवामा प्रभावकारिता आउन सकेको छैन भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानबाट प्राप्त मुख्य उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुको विकल्प नरहेको बताउँनुभयो ।

वरिष्ठ पत्रकार होमनाथ दाहालले प्रजातन्त्रविरोधी शक्ति सबैतिर स्थापित हुँदै गरेको तथा राष्ट्रियता संकटमा परेको बेला सहमति, सहकार्य र एकताको नाउँमा काँग्रेसले सिद्धान्त विर्सदै जाँदा मुलुकमाथिनै संकट थपिदै गएको धारणा राख्नुभयो ।

उहाँले वीपी, गणेशमान, सुवर्ण शमशेर जस्ता नेताहरुले बालेको प्रजातन्त्रको दियोमा तेल थप्दै जानुपर्नेमा पार्टीभित्र महाधिवेशनपछि गुटवन्दी बढेर मुख्य विषयहरुमा नेताहरुबीच स्वभाविक छलफल नहुनु चिन्ताको विषय हो भन्नुभयो ।

वरिष्ठ पत्रकार एवम राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले काँग्रेसले आफ्नो आदर्श, सिद्धान्त, कार्यक्रम र रणनीतिलाई समयानुकुल परिभाषित गर्नुपर्ने धारणा राख्दै पार्टीमा बढ्दो गुटवन्दीले लोकतान्त्रिक संस्कृति, संगठन र सिद्धान्त कमजोर बनाउँदै लगेको छ भन्नुभयो ।

“पार्टीका निकाय र सरकारमा नियुक्ती हुँदा गुटउपगुटका मान्छे नियुक्त हुन्छन्, काँग्रेसका हुँदैनन्, अहिले काँग्रेस पार्टीभित्र काँग्रेस बन्ने संस्कृतिको निर्माण गर्नुपर्ने आवश्यकता छ,” दाहालले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले प्रजातान्त्रिक सिद्धान्तले स्वतन्त्रता र समुन्नती दिएन भने त्यहाँ नेतृत्व असफल हुन्छ भन्दै पुँजीको विकास, सामाजिक सुरक्षा र पुँजीको पुर्नवितरण सहित स–साना उद्यम व्यवसाय धेरै संख्यामा गरेर आर्थिक विकासलाई अघि बढाउन सकिन्छ भन्नुभयो ।

उहाँले सरकार अस्थिर भएर विकासमा बाधा पर्दैन बरु त्यसलाई लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर भएमा सुशासन र विकासमा बाधा पुग्छ भन्नुभयो ।

कुटनीतिज्ञ डा. शंभुराम सिंखडाले काँग्रेसलाई अरु कसैले होइन आफैभित्रको झगडा र गुटवन्दीले कमजोर बनाउने गरेको छ भन्दै सिद्धान्तको राजनीति र निष्ठावान नेतृत्वले संगठनको माध्यमबाट जनताले चाहेको विकास गर्न सक्नुपर्छ भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्यद्वय प्रभु बुढाथोकी र धीरेन्द्रमान प्रधानले एउटा भन्ने तर अर्को काम गर्ने, निराशा बढाउने र आपसमा विश्वास नगर्ने प्रवृत्ति तथा बुद्धिजीवीले पनि समस्या उठाउने तथा समाधान नदिने गर्दा देशमा झनझन समस्या बढ्दै गएको धारणा राख्नुभयो ।

समाजका अध्यक्ष डा. केदारनरसिंह केसीको सभापतित्वमा भएको सो कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र महासचिव गोकर्ण अर्यालले व्यक्तिभन्दा विचार, सिद्धान्त, संस्था र सयन्त्र राम्रो हुँदा मात्र राजनीतिक दल र लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ भन्नुभयो ।

कार्यक्रममा नेपाल इञ्जिीनीयर्स एशोसीयसन र नेपाल चिकित्सक संघका नवनिर्वाचीत पदाधिकारीलाई सम्मान गरिएको थियो । रासस