बारा, १६ असोज । सहकारी क्षेत्रभित्र देखिएका विकृति र जोखिमलाई हल गरी सहकारीभित्र सुशासन र नियमनका लागि प्रभावकारी कानुन बनाउन ढिला भएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले बताउनुभएको छ ।
बाराको गढीमाई नगरपालिका–२ सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभाको उद्घाटनमा मन्त्री थानीले सो कुरा बताउनुभएको हो ।
उहाँले सहकारीका कमीकमजोरी हटाई यसको नियमनको महसुस गर्दै आफूहरुले विधेयकको रुपमा ऐन ल्याउन लागिपरेको बताउँदै प्रस्तावित सहकारी ऐनमा सबैको भावना समेटेर पूर्णता दिने प्रयास भइरहेको बताउनुभयो ।
सहकारी ऐन कानुन बनाउने क्रममा धेरैतिरबाट देशभर कार्यक्षेत्र राख्न पाउनुपर्ने, सञ्चालक नै व्यवस्थापक हुन पाउनुपर्ने माग आएका छन् । त्यसैगरी, आफ्नो तलब आफैँ तोक्न पाउनुपर्ने, बैंक वित्तीय संस्थासरह चलाउन पाउनुपर्ने माग आएपनि सहकारी सिद्धान्त र मूल्य मान्यताअनुरुप नभएको मन्त्री थानीले बताउनुभयो । माग राख्नेले सही माग माग्नुपर्ने उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष कृष्ण पौडेलको सभापतित्वमा भएको वार्षिक साधारणसभामा बारा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष भोला गौतम, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, गढीमाई नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराम बेल्वासे, कलाकार देवेन्द्र कार्की, साहित्यकार रामप्रसाद पोखरेल, सेयर सदस्य शोभा कार्कीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
यसैबीच, हातेमालो सहकारी र जोलाइमाई साकोसबीच एकीकरणको औपचारिक घोषणा गरियो । मन्त्री थानीको उपस्थितिमा हातेमालो साकोसका अध्यक्ष कृष्ण पौडेल र जोलाइमाई साकोसका अध्यक्ष तिलक रिमालले दुवै संस्था एक भएको घोषणा गरेका हुन् । जोलाइमाई साकोसले २०० सदस्यबीच रु ५० लाखको कारोबार गरिरहेको थियो ।
उद्घाटन सत्रपछि आयोजित बन्दसत्रले संस्थाका अध्यक्ष कृष्ण पौडेल, लेखा संयोजक डम्बरमणि थेवे लिम्बू, कोषाध्यक्ष शिव वाग्लेले प्रस्तुत गरेको प्रतिवेदनलाई सुझावसहित पारित गरेको थियो । नौ वर्षअघि स्थापित हातेमालो साकोसले हाल दुई हजार २०० सदस्यबीच २२ करोडको कारोबार गरिरहेको छ । रासस















प्रतिक्रिया