काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई दीर्घकालीन राजनीतिक अस्थिरतामा लैजान खोजेको आरोप लगाउनुभएको छ ।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीले संसदीय व्यवस्था स्वीकार नगरेको भन्नु मलुकलाई अस्थिरतामा लैजाने षडयन्त्र भएको बताउनुभयो ।
‘प्रधानमन्त्रीले संसदीय व्यवस्था स्वीकार गर्दिन भन्नुभएछ’, नेता पौडेलले भन्नुभयो, ‘उहाँहरुले संसदीय व्यवस्था स्वीकार्न सक्नुभएन, संसदीय व्यवस्थाको विकल्प दिन पनि सक्नुभएन । नेपालको राजनीतिक गाँठो यही हो । उहाँहरूलाई राजनीतिको मूलधारमा ल्याउन संसदीय व्यवस्थाका धेरै विषयमा हामीले कम्प्रोमाइज गर्यौं र उहाँहरूलाई साथ लिएर हिँड्यौं ।’
‘उहाँहरू अझै पनि संसदीय व्यवस्था स्वीकार गर्दैनौं भन्नुहुन्छ भने यो दुर्भाग्य हो । उहाँहरूले जाने अर्काे बाटो छैन भन्ने बुझिसक्नुभयो’, पौडेलले भन्नुभयो । आफूले बाटो देखाउन नसक्ने अनि संसदीय व्यवस्था स्वीकार गर्न पनि नसक्ने काम गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान खोजिएको दावी पौडेलको छ ।
संविधानले जुन व्यवस्था अंगालेको छ, त्यसैलाई स्वीकार गरेर सबैले अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । मधेसवादी र एमाले दुवैले हलो अड्काउने प्रवृत्ति देखाएको आरोप पनि पौडेलको थियो । उहाँले भन्नुभयो, ‘एमाले जस्तो जिम्मेवार पार्टीले संविधान संशोधन गर्नै दिन्न, मैले भनेजस्तो मात्र हुनुपर्छ, त्यो बाहेक अरु केही हुनुहुन्न भन्न सुहाउँदैन । ओलीजीले हलो अड्काउन भएन ।’
पुनर्सरचना आयोगले ७५ जिल्लालाई पाँच सय जिल्ला बनाउन लागेको भन्दै पौडेलले कडा आलोचना गर्दै भन्नुभयो, ‘यतिका वर्षमा ७५ जिल्लालाई राम्ररी स्थापित गर्न सकिएको छैन भने अब पाँच सय जिल्ला कसरी स्थापित गर्ने ? यो व्यवहारिक काम होइन, अव्यवहारिक काममा लाग्न भएन ।’











प्रतिक्रिया