काठमाडौं, १५ असोज । सिचाइमन्त्री दीपक गिरीले हिन्दी भाषालाई राष्ट्रिय भाषाभन्दा पनि स्थानीय तहमा चलनचल्तीको सम्पर्क भाषा बनाउन सकिने बताउनुभएको छ ।
दैनिक नेपाल डट कमसँग शनिबार कुरा गर्दै मन्त्री गिरीले हिन्दी भाषालाई स्थानीय भाषाका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । ‘हिन्दी भाषाका विषयमा केही कुरा बङ्ग्याइएको छ’, उहाँले भन्नुभयो, ‘यसलाई राजनीतिकरण गर्नु हुँदैन । मुलुक संघीयतामा गइसकेको अवस्थामा स्थानीय तहमा हिन्दी भाषालाई प्रयोग गरिन्छ भने अन्याथा लिनु हुँदैन । तर राष्ट्रिय भाषाका रुपमा त नेपाली भाषा छदैं छ ।’
‘नेपाली भाषालाई सबैले राष्ट्रिय भाषा मानेकै छ नि’, सिचाइमन्त्री गिरीले भन्नुभयो, ‘हिन्दी भाषाको विरोध गर्दैमा राष्ट्रवादी हुने कुराको पक्षमा म छैन । स्थानीय भाषाहरू भोजपुरी, अवधि, मैथिली, थारु, लिम्बु, राईलगायतका भाषालाई मातृभाषाका रुपमा मान्यता दिए सरह हिन्दीलाई पनि मान्यता दिनुपर्छ ।’
हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन मधेसी मोर्चाले दबाब दिइरहेका बेला सिचाइमन्त्री गिरीले पनि त्यसको पक्षमा आफू नहरेको बताउनुभएको छ ।











प्रतिक्रिया