काठमाडौं, १४ असोज । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले सशस्त्र प्रहरी बलप्रति जनताले गर्व महसुस गर्ने गरेको बताउनु भएको छ ।
शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निरिक्षणपछि सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधनको क्रममा उहाँले देशका थुप्रै ठाउँहरुबाट सशस्त्र प्रहरी बलको युनिट स्थापनाका लागि माग भईरहेको बताउनुहुँदै यो पनि नेपाली जनताको सशस्त्र प्रहरी बल प्रतिको विश्वास भएको उल्लेख गर्नुभयो ।
निर्वाचन गराउनु वर्तमान सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुहुँदै उहाँले चुनावको लागि सम्पूर्ण प्रकारको सुरक्षा तथा आन्तरिक तयारी गर्न निर्देशन समेत दिनुभयो ।
उहाँले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले गरेको कार्यको प्रसंसा गर्नुहुँदै त्यसका लागि श्रोतसाधनको उचित व्यवस्थापन गर्न र समयानुकुल परिमार्जन गर्दै लैजान नेपाल सरकार सकारात्मक रहेको कुरा समेत उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी बलको स्थापनाका लागि आफ्नो समेत प्रत्यक्ष, अप्रत्यक्ष संलग्नता रहेको स्मरण गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री निधिले सशस्त्र प्रहरी बल राज्यले सुम्पिएको जिम्मेवारी पूरा गर्न सधैं कटिवद्ध रहने विश्वास व्यक्त गर्नुभयो ।
गृहसचिव लोकदर्शन रेग्मीले सो अवसरमा सशस्त्र प्रहरी बललाई अन्तर्राष्ट्रिय स्तरको र नेपाली जनताको मन मस्तिष्कमा बस्ने खालको बनाइ राख्न गृह मन्त्रालय सधै सकारात्मक रहेको बताउनुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो कामकारवाहीमा अब्बल र अझ व्यावशायीक ढंगले लागिरहन निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी बलले गरिरहेको कामकारवाहीलाई अझ व्यावशायीक र बिशिष्टिकृत बनाउन श्रोतसाधनको अभाव हटाउन गृह मन्त्रालय तयार रहेको बताउनुहुँदै उहाँले भन्नुभयो–‘जनता र राष्ट्रको लागि सशस्त्र प्रहरी बल जुन ढंगले कृयाशिल छ त्यसको म मुक्त कण्ठले प्रसंसा गर्दछु ।’
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राज्यले दिएको जिम्मेवारी जस्तोसुकै परिस्थितिमा पनि पूरा गर्ने बताउनुहुँदै राज्य प्रदत्त जिम्मेवारी कूशलतापूर्वक पूरा गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘नेपाल र नेपालीका लागि जस्तोसुकै कठिन अवस्थामा पनि शान्ति सुरक्षा प्रदान गर्न अघि बढ्नेछौं ।’
उहाँले राज्यले सुम्पिएको दायित्व निर्वाहमा सशस्त्र प्रहरी बल व्यावसायीक कूशलतापूर्वक कृयाशिल रहेको उल्लेख गर्नुहुँदै आगामी दिनहरुमा समेत सेवा र सुरक्षाप्रति समर्पित रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा हाल देशभर ५८ जिल्लामा सशस्त्र प्रहरी बलका युनिट स्थापना भएको र हाल देशका विभिन्न १ सय ५४ ठाउँमा सशस्त्र प्रहरी बलको युनिट राख्न माग भएको जानकारी गराइएको थियो ।
यसअघि सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेलले उपप्रधान तथा गृहमन्त्री समक्ष देशभर सशस्त्र प्रहरीको युनिट, हालसम्म भएगरेका महत्वपूर्ण काम कारवाही, भौतिक पूर्वाधारको अवस्था, सशस्त्र प्रहरी बलको संरचना, मिसन, विपद् व्यवस्थापनमा भएका उपलब्धी लगाएतका विषयहरुमा जानकारी गराउनु भएको थियो भने भुकम्पको बेला सशस्त्र प्रहरी बलले गरेको उद्धार सम्बन्धी डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गृह मन्त्रालयका अधिकृतहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा र जितबहादुर पुन लगायत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरु, काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बलका इकाई प्रमुखहरु तथा सशस्त्र प्रहरी बलका अधिकृत तथा बिल्लादार जवानको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया