३० कार्तिक २०८३, सोमबार

‘हिन्दी’लाई राष्ट्रिय भाषा बनाउने प्रस्तावको कडा विरोधमा उत्रियो राप्रपा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pashupati-shamsher-rana– विमल योगी

काठमाडौं, १२ असोज । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले अंगीकृत नागरिकलाई प्रधानमन्त्रीसहितका उच्च पदमा जान पाउनु पर्छ भन्ने मागको कुनै औचित्य नरहेको भन्दै कडा विरोध गरेको छ ।

दसैँ, तिहार र छठ पर्वको अवसरमा काठमाडौंमा पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणाले अंगीकृत नागरिकलाई मन्त्रीसम्म बन्न दिए पनि प्रधानमन्त्री, संवैधानिक निकायको प्रमुख लगायत महत्वपूर्ण पदमा जान रोक लगाइनु पर्ने बताउनुभयो ।

‘अंगीकृत नागरिकलाई उच्च पदमा जान दिनु हुँदैन’, उहाँले भन्नुभयो, ‘विदेशी नागरिकलाई संविधान संशोधन गरेर अधिकार दिने पक्षमा राप्रपा छैन ।’

हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने भनेर आएका समाचार र मधेसी मोर्चाको दबाबको चर्को विरोध गर्नु भएका राप्रपा अध्यक्ष राणाले नेपाली भाषालाई नै कामकाजी र राष्ट्रिय भाषा बनानु पर्ने उल्लेख गर्नुभयो । उहाँले हिन्दी भाषाको खुलेरै विरोध गर्नुभयो ।

तराईमा दुई प्रदेशका विषयमा भएको बिबादमा राणाले भन्नुभयो, ‘दुई नम्बर प्रदेशमा धेरै बिबाद छैन । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरूलाई निकाल्ने हो भने सीमा बिबाद आफै अन्त्य हुन्छ ।’

उहाँले स्थानीय तहको सीमाङ्कनका विषयमा प्रमुख तीन दलले पछिल्लो पटक गरेको सहमतिको पनि विरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो मुलुक तीन दलको मात्रै होइन । र सबै कुरा मान्नु पर्छ भन्ने छैन ।’

त्यसैगरी राप्रपा अध्यक्ष राणाले अबदेखि आफूहरूले हिन्दू राष्ट्रको नारालाई जोडदार रुपमा उठाउने बताउनुभएको छ ।

‘दोस्रो जनआन्दोलनमा धर्मनिरपेक्षताको कुरै उठेको थिएन । कहाँबाट आयो धर्मनिरपेक्षता ?’, उहाँले भन्नुभयो, ‘सुरुमा पनि धर्मनिरपेक्षताको हामीले विरोध गरेका थियौँ अहिले पनि विरोध छौं’, उहाँले भन्नुभयो, ‘हिन्दू राष्ट्रसहितको गणतन्त्रका पक्षमा राप्रपाले जोडदार आवाज उठाउँछ ।’

राप्रपाको पछिल्लो धारणाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाको माग पूरा गर्न कठिन देखिएको छ ।