काठमाडौं, ११ असोज । राप्रपा नेपालका मुख्य सचेतक दिलनाथ गिरीले स्थानीय तहको तत्कालीन जिल्ला विकास समितिको इलाकालाई आधार बनाएर नगर तथा गाउँपालिका बनाउनेबारे भएको प्रमुख तीन दलको सहमतिको विरोध गर्नुभएको छ ।
संसदको आजको बैठकमा सुरुमै समय लिएर बोल्दै सांसद गिरीले इलाकालाई आधार बनाएर स्थानीय तह बनाउने निर्णय तीन दलले गरेका हुन् भने त्यो संविधान विपरितको हुने बताउनुभयो । ‘तीन दलको सिण्डिकेटले संविधान बनेको थियो’, उहाँले भन्नुभयो, ‘अहिले पनि सिण्डिकेट गरेर फेरि पनि स्थानीय तह बनाइन्छ भने त्यो मान्य छैन ।’
तमलोपाका सांसद जंगीलाल रायले स्थानीय तहको पुनर्संरचनाका बारेमा प्रमुख दलहरूवीच भएको सहमति मान्य नरहेको बताउनुभयो । ‘२५ वर्ष अगाडिको विषयलाई लिएर स्थानीय तहको निर्णय गर्ने प्रमुख तीन दलवीच सहमति भएको छ’, उहाँले भन्नुभयो, ‘यो सहमतिलाई मान्दैनौँ । यसलाई आधार बनाएर गरिने चुनाव मान्य छैन । चुनाव गर्न दिँदैनौँ ।’
सांसद रायले राज्य पुनर्संरचना जनसंख्याका आधारमा हुनुपर्ने भन्दै यथाअवस्थामा हुने स्थानीय तहको संरचना कुनै पनि हालतमा मान्य नहुने उल्लेख गर्नुभयो ।
नेमकिपाकी सांसद अनुराधा थापाले टीकापुर हत्याको घटना दोषीको मुद्दा फिर्ता लिनेबारे गृहमन्त्री विमलेन्द्र निधिको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘टीकापुर घटना राज्यले गरेको भनेर आन्दोलनकारीले आरोप लगाएका छन् । यो सरासर गलत हो । राज्यले टीकापुर घटना भएको भए एसएसपीको ज्यान जाने थिएन ।’
सांसद थापाले नयाँदिल्लीमा प्रधानमन्त्रीले टीकापुर घटनाका प्रमुख दोषीलाई भेट्न आपत्ति जनक रहेको बताउनुभयो ।











प्रतिक्रिया