काठमाडौं, ११ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना मागहरूका विषयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गर्ने भएको छ ।
अपरान्ह तीन बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मधेसी मोर्चाले सरकार गठनका बेला भएको तीन बुँदे सहमतिको पूरा हुन बाँकी बुँदाहरूका बारेमा उठाउनेछ । उसले माग पूरा हुन भइरहेको ढिलाइप्रति पनि दाहालसँग जिज्ञासा राख्नेछ ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार छलफलमा संविधान संशोधन, स्थानीय तहको संख्या र राजनीतिक मुद्दा फिर्ता एवम् शहीद घोषणा हुन बाँकीहरूका बारेमा छलफल हुनेछ ।
सोमबार बेलुका बसेको मधेसी मोर्चाको बैठकले सरकारले आफ्ना मागप्रति ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरेको थियो । मोर्चाले विशेष गरेर राजनीतिक मागहरूलाई पूरा गराउन प्रधानमन्त्री दाहालसँग भेट गरेर दबाब दिने निर्णय गरेको थियो ।











प्रतिक्रिया