१ कार्तिक २०८३, शनिबार

‘माथिल्लो मर्स्याङ्दी ए’ बाट व्यावसायिक विद्युत् उत्पादन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upper-marsyangdi-hydropower

बेंसीसहर(लमजुङ), १० असोज । भुलभुलेमा निर्मित ‘माथिल्लो मर्स्याङदी ए’ बाट आजदेखि व्यवसायिक विद्युत उत्पादन सुरु भएको छ ।

आयोजना उद्घाटनका लागि आज काठमाडौं र लमजुङमा छुट्टाछुट्टै कार्यक्रम गरिएको थियो । काठमाडौंमा आयोजित कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले औपचारिक उद्घाटन भएको घोषणा गरिएको जानकारीपछि जिल्लामा सांसद भीष्म अधिकारी र सहायक प्रजिअले संयुक्त रुपमा स्वीच अन गर्नुभएको थियो ।

पचास मेगावाट क्षमताकोे सो आयोजनामा २५-२५ मेगावाटका दुई टर्बाइन जडान गरिएको छ । हाल दुईमध्ये युनिट नं १ मात्र सञ्चालनमा ल्याइएको छ । एउटा मात्र युनिटबाट २५ मेगावाट विद्युत् उत्पादन भएको आयोजनाले जनाएको छ । युनिट नं २ को परीक्षण पनि सफल भएको तर नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौतानुसार तीन महिनापछि सञ्चालनमा ल्याइने बताइएको छ ।

उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । प्राधिकरणले प्रसारण लाइन बनाउनुपर्ने भए पनि बनाउने छाँटकाँट नदेखाएपछि आयोजना स्वयंले रु ३० करोडको लागतमा २० किमी लामो प्रसारण लाइन निर्माण गरेको थियो । विद्युत्गृहदेखि मध्यमस्र्याङ्दीसम्म आयोजनाले आफैंँ प्रसारण लाइन बनाएको हो ।

माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सिनोहाइड्रो–सगरमाथा पावर कंले निर्माण गरेको हो । आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनीको सिनोहाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कंको १० प्रतिशत लगानी छ । रन अफ रिभर प्रविधिमा निर्माणाधीन उक्त आयोजनाका लागि सुरुमा रु साढे १२ अर्ब लाग्ने अनुमान गरिएको थियो । अहिले करिब रु १६ अर्ब पुग्ने अनुमान गरिएको आयोजना स्रोतले जनाएको छ ।

आयोजनाले सुख्खा याममा अर्थात् पुसदेखि चैतसम्ममा पाँच करोड ७० लाख युनिट र वर्षायाममा २६ करोड ६ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ । रासस