काठमाडौं, ८ असोज । कैलाली जिल्लामा एक वर्ष अगाडि भएको ‘टीकापुर हत्याकाण्ड’ अहिले फेरि एकाएक चर्चामा आएको छ । यसलाई चर्चामा ल्याउने काम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री विमलेन्द्र निधि हुन् ।
दाहाल र निधिले ‘टीकापुर हत्याकाण्ड’का प्रमुख नाइकेलाई भेट्ने होस् वा मुद्दा फिर्ता र क्षतिपूर्ति होस् यी बिबादित विषयलाई राजनीति तहमा छलफलमा ल्याएर बिबाद उत्पन्न गर्न खोजेका हुन् ।
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका बेला टीकापुर हत्याकाण्डका नाइके रेशमलाल चौधरीलाई नयाँदिल्लीमा भेट गरेको तस्बिरले खुबै हल्लाखल्ला मच्चाएको छ । सो विषयमा दाहालले विज्ञप्ति नै जारी गरेर स्पष्टीकरण दिनु परेको थियो ।
यता, गृहमन्त्री निधिले मधेसी मोर्चाको दबाबमा ‘टीकापुर हत्याकाण्ड’का नाइके रेशमलाल चौधरीको मुद्दा फिर्ता लिन खोजीरहेको आरोप छ । सोही विषयमा गृहमन्त्री निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालवीच बिबाद उत्पन्न भएको बताएको छ ।
निधिले ‘टीकापुर हत्याकाण्ड’का दोषीहरूको मुद्दा फिर्ता लिन दबाब दिएपछि महानिरीक्षक अर्यालले अस्वीकार गरेको समाचार बाहिर आइसकेको छ ।
२०७२ साल भदौ ७, ८ र ९ गते भएको ‘टीकापुर हत्याकाण्ड’मा सद्भावना पार्टीका नेता रेशम लाल चौधरीले २ करोड ९० लाख २६ हजार ५० रुपियाँ क्षति भएको भन्दै दाबी प्रस्तुत गरेका छन् । उनले यो क्ष्ति विवरणको दाबी गरेको टीकापुर नगरपालिकाका कार्यकारी अधिृकत तुलसीप्रसाद अधिकारीको संयोजकत्वमा बनेको गठित मूल्यांकन समितिले तयार पारेको रिपोर्टमा उल्लेख छ ।
सो रिपोर्टमा फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीले ६२ लाख ६६ हजार, निरु ट्रेडर्सले १ करोड २८ लाख ४० हजार ९ सय, प्रदीप चौधरीले १ करोड ९८ लाख ६४ हजार ८ सय ४०, भगतराम चौधरीले १ करोड २२ लाख ६१ हजार ८ सय ७७, चरण चौधरीले ४७ लाख १ हजार ६ सय २५ रुपियाँको क्षति भएको दाबी गरेका छन् ।
त्यसैगरी, दुर्गौलीको पेट्रोल पम्मले २६ लाख ५ हजार, गंगाराम जैशीले ७७ लाख ४७ हजार, धनीराम चौधरीले ८ हजार ७८, थम्मन बलमे ११ लाख २४ हजार ८ सय ६०, कुष्ण सुनारले २३ लाख ५८ हजार ५ सय २०, महेश चौधरीले १४ लाख ५१ हजार र सुदेश्नी चौधरीले ५६ लाख ७८ हजार ८ सय १० रुपियाँको क्षति भएको दाबी गरेका छन् ।
प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिले माथि उल्लेखित सबैको मुद्दा फिर्ता र क्षतिपूर्ति दिने तयारी गरेको स्रोतले जनाएको छ ।











प्रतिक्रिया