काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव गर्नु अनिर्वाय रहेको बताउनुभएको छ ।
परशु घिमिरे र विन्दुकान्त घिमिरेद्वारा सम्पादन गरिएको ‘नेपाली कांग्रेस महाधिवेशन २००३–२०७२’ विशेषाङ्कको शुक्रबार काठमाडौंमा लोकार्पण गर्दै सभापति देउवाले राज्य पुनर्संरचनाको अन्तिम टुङ्गो नलाग्दासम्म इलाकाहरूलाई कम्तिमा एउटा स्थानीय निकाय मानेर चुनाव गर्न प्रस्ताव गर्नुभयो । ‘संविधान कार्यान्वयन गर्नुपर्ने प्रमुख दायित्व हामीलाई छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि स्थानीय निकायको चुनाव गर्नै पर्छ । राज्य पुनर्संरचनाको अन्तिम टुङ्गो नलाग्दासम्म इलाकाहरूलाई नै आधार बनाएर चुनाव गरौँ ।’
दलहरूका वीच स्थानीय निकायको संख्यालाई लिएर बिबाद भइरहेका बेला कांग्रेस सभापति देउवाले इलाकालाई कम्तिमा एउटा स्थानीय निकाय बनाउन प्रस्ताव गर्नुभएको हो ।
उहाँले राज्य पुनर्संरचनामा दलहरूका वीच समस्या रहेको पनि बताउनुभयो । ‘दलहरूका वीच केही विवाद छ’, देउवाले भन्नुभयो, ‘यसलाई आपसी सहमतिमा टुङ्गो लगाउनु पर्छ ।’ यो प्रस्तावलाई दलहरूले पनि मान्न सक्ने र कम बिबादित विषय रहेको उहाँको भनाइ थियो ।
कांग्रेसको महाधिवेशनका बेला आफूले पार्टीलाई एकजुट बनाएर लैजाने भनेर प्रतिवद्धता गरेको स्मरण गर्दै सभापति देउवाले भन्नुभयो, ‘पार्टीलाई मिलाएर लैजान्छु । सबैलाई न्याय गर्छु ।’
कार्यक्रममा तरुण साप्ताहिकका कार्यकारी सम्पादक विन्दुकान्त घिमिरेलाई पत्रकारितामा पुगाएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।
नेपाली कांग्रेस महाविधेशन विशेषाङ्कमा कांग्रेसको अहिलेसम्मको इतिहाँस समेटिएको परशु घिमिरेले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘कांग्रेसको अहिलेसम्मको इतिहाँसलाई पाएसम्म कितावमा समेट्ने प्रयास गरेका छौँ ।’












प्रतिक्रिया