अहिले बजारमा आएका अधिकांश गीतसंगीतहरूबाट गायक जय देवकोटा खुसी छन् । तर केही गायिक गायिकाहरूका क्रियाकलापबाट भने चिन्तित छन् । गीतसंगीतमा बढ्दै गएको छाडापन देवकोटालाई पटक्कै मन परेको छैन । काठमाडौंको डिल्लीबजारमा आफ्नै रेकर्डिङ स्टुडियो खेलेर बसेका देवकोटाले आफ्नै स्वर र शब्दमा दसैँ गीत पनि निकालेका छन् । उनले सबै खालका गीत गाउँछन् । स्टेज शोहरूमा हिँड्ने गरेका गायक देवकोटासँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानी :
० अहिलेका लोक तथा दोहोरी र तीज गीतहरू कस्ता खालका छन् ?
– धेरै गीतहरू राम्रा छन् । म स्वयं गायक भएका कारण पनि नेपाली बजारमा आउने अधिकांश गीतहरू सुन्ने गरेको छु । धेरै गीतहरूले नेपाली मौलिकतालाई पछ्याएका छन् । जति सुन्यो त्यति सुनुसुनु लाग्छन् । केही गीत भने लाजै लाग्ने भएका छन् । म्युजिक भिडियोहरू पनि हेर्ने गरेको छु । सबैलाई एकै रुपमा टिप्पणी गर्नु हुँदैन । तर केही गीतहरूले कलाकार र गीतसंगीतको बद्नामै गरेको छ । त्यस्ता गायक गायिकालाई दर्शक स्रोता आफैले चिन्नु पर्छ ।
० कस्ता गीतहरू छन् र ?
– गीतसंगीतको नाममा एउटा समूहले अन्त्यन्तै भद्दा प्रस्तुति दिँदै आएको छ । संगीतको सामान्य सिद्धान्तभन्दा पनि बाहिर गएर अहिले गीतसंगीत बन्न थालेका छन् । यो त अति भइसकेको छ । राज्यले नियमन गर्न नसक्दा अराजकता निम्तिएको छ । यसलाई नियमन गर्न अनिवार्य भइसक्यो ।
० को–को हुन् त्यस्ता अराजक कलाकारहरू ?
– त्यस्ता गायक गायिकाको नाम मेरो मुखबाट नभनाउनुस् । दर्शक स्रोता सबैलाई थाहा छ । लोकगीतको म्युजिक भिडियोमा भित्रीबस्त्र देखाइन्छ । गायक मर्यो भनेर गीत बनाइन्छ । यस्तो त गर्नु भएन नि ! गीतसंगीतका नाममा जे पनि गर्न पाइन्छ र ?
० दर्शक स्रोताले त्यस्तै कुरा मन पराउँछन् त ?
– गायक/गायिका र कलाकारको राज्य र समाजप्रति एउटा दायित्व हुन्छ । त्यो दाइत्वलाई तपाई हामी सबैले मान्नु पर्छ । राज्यले केही गरेन भन्दैमा जे पनि गर्ने त ? दर्शक स्रोताले मन पराए भन्दैमा जिउँदो गायकलाई मर्यो भनेर गीत बनाउने अनि समाचार राख्ने ? लोकगीत वा तीजको गीतमा गयिका वा मोडलले आफ्ना गोप्य अंग र भित्रिबस्त्र देखाउने त ? तपाई आफै भन्नुस् यस्तो पनि गर्न मिल्छ ?
० तपाईको के सुझाव छ ?
– गीतसंगीतलाई मर्यादित बनाउन मभित्रैबाट सुरुवात गर्नुपर्छ । मैले गल्ती गरेको छु भने सुधार गर्नुपर्छ । तर सधैँ गल्ती गर्ने हो भने मैले राज्यप्रतिको दायित्व भुलेको ठहरिनेछ । राज्यले गीतसंगीतलाई नियमन गर्नु पर्यो । यसलाई व्यवस्थिति गरेर आर्थिक र सामाजिक संरक्षण गर्नु पर्यो । कलाकारका हकहितमा जन्मिएको संघसंस्थाले पनि त्यसको मूल्यांक गर्नु पर्यो । दण्ड सजायको सानो भए नि सुरुवात गर्दा राम्रो हुने थियो ।
० तपाई आफै पनि गायक हुनुहन्छ, नयाँ गीत गाउनु भएको छैन ?
– गाएको छु । दसैँ पर्वलाई ध्यानमा राखेर ‘यो सालमा म आउँला या नआउँला…’ बोलको गीत बनाएको छु । म्युजिक भिडियो यूट्युबमा राखेको छु । विदेशमा रहेका दर्शक स्रोताहरूले हेरिरहनु भएको छ । राम्रो टिप्पणी पाइरहेको छु । खुसी छु । सबैले मनपराइ दिनु भएको छ ।
० दसैँलाई नै किन ध्यानमा राखेर गीत बनाउनु भएको हो ?
– दसैँ नेपालीहरूको विशेष पर्व हो । अझ हिन्दूले मनाउने यो चाढसँग नेपालीहरूको आफ्नै भावना जोडिएको छ । अरु खासै केही नभए पनि विदेशमा रहेका नेपालीहरू जो खाडीको गर्मीमा पसिना चुहाएर काम गरिरहेका छन्, उनीहरूलाई घरपरिवारको सम्झना दसैँमा कसरी आउँछ भनेर गीत बनाएको हुँ । गीत भावनामा बगेको छ ।
० तपाईका गीत अधिकांश मिलनतिर भन्दा पनि बिछोडमा आधारित हुन्छ किन हो ?
– म अलि भावुक छु । त्यही भएर हुन सक्छ । गीतसंगीत भनेकै मनलाई छुने हुनुपर्छ । भावना बगेको गीतसंगीतले दर्शक स्रोताको मनलाई अठ्याएर राख्न सक्छ । गीतसंगीत दीर्घकाललाई सोँचेर बनाइनु पर्छ । मैले गीत बनाउँदा त्यसलाई आधार पनि बनाउँछु । मेरा गीतसंगीत भद्दा हुँदैनन् र बनाउने पनि छैन ।
० तपाईले आफ्नै स्टुडियो बनाएर चलाउनु पनि भएको रहेछ त ?
– हो । म गीतसंगीतप्रति अलि धेरै लगाव भएको व्यक्ति हुँ । पहिला पहिला स्टुडियोहरूमा नयाँ कलाकारहरूलाई हुने गरेको व्यवहारबाट म पनि पीडित व्यक्ति हुँ । मैले जस्तो समस्या थोरै भए पनि कलाकारले नभोगुन भनेर स्टुडियो बनाएको छु । सकेसम्म सबै कलाकारलाई एउटै व्यवहार गर्ने प्रयास गर्नेछु । पारिवारिक वातावरणमा काम गर्नेछु ।















प्रतिक्रिया