१ कार्तिक २०८३, आइतबार

नेपालको विकासप्रति नर्वेको चाँसो, पुनःनिर्माणमा साझेदारी गर्न विश्व बैंक इच्छुक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-norbeyjian-ambessor

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेनले आज सिंहदरबारमा भेटवार्ता गर्नुभयो ।

भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपालले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक विकासका लागि द्रुत गतिमा काम गरिरहेको जानकारी दिँदै नेपालको विकास प्रयासमा नर्वे सरकारबाट प्राप्त सहयोगको सराहना गर्नुभयो ।

नेपालले सात दशक लामो सङ्घर्षबाट प्रगतिशील संविधान प्राप्त गरेको र शान्ति प्रक्रियालाई मौलिक ढङ्गले टुङ्गोमा पुर्याउन खोजिरहेको बताउनुभएको प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै उहाँको निजी सचिवालयले जनाएको छ ।

भेटमा राजदूत पिटर्सेनले नेपालको प्रगति र समृद्धिका लागि नर्वेको सहयोग जारी रहने विश्वास दिलाउँदै शान्ति प्रक्रियामा नर्वेले खेलेको भूमिकालाई नेपालले सकारात्मक रुपमा मूल्याङ्कन गरेकामा धन्यवाद दिनुभयो ।

पुनःनिर्माणमा साझेदारी गर्न विश्व बैंक इच्छुक

यसैबीच, प्रधानमन्त्री दाहाल र विश्व बैंकका देशीय निर्देशक किमियाओ फानबीच पनि आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक विकासका लागि विश्व बैंकले प्रदान गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।

भेटमा प्रधानमन्त्रीले उच्च शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्प पछिको पुनःनिर्माणमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल इच्छुक रहेको बताउनुभयो । “विश्व बैंकले नेपालको भौतिक र मानवीय विकासका लागि गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छौँ, नेपालको पुनःनिर्माण, उच्च शिक्षा, स्वास्थ्य, भौतिक विकासका लागि विश्व बैंकसँग थप साझेदारित गर्न नेपाल इच्छुक छ” – प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विश्व बैंकको नीतिमा सहलीकरण गरी नेपाल सरकारको पूर्वाधार विकास नीति अनुकूल बनाउन पनि राजदूत फानसँग आग्रह गर्नुभएको थियो ।

निर्देशक फानले नेपालको ऊर्जा, जलविद्युत्, प्रसारण लाइन, सौर्य ऊर्जालगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने जानकारी दिनुभएको थियो । रासस