१ कार्तिक २०८३, आइतबार

बिबादमा यसरी पर्‍यो ‘डान्स आइकन दाङ’, बैधानिकताबारे प्रशासनले छानविन गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

did-dang-danceदाङ । दाङ जिल्लाको घोराहीमा सञ्चालित ‘डान्स आइकन दाङ’ (डीआइडी)ले सञ्चालन गर्दै आएको नृत्यसम्बन्धी प्रतियोगिताको कानुनी वैधताबारे स्थानीय प्रशासनले खोजविन सुरु गर्ने भएको छ ।

दाङ जिल्लामा सामाजिक कार्य र मनोरञ्जनका नाममा जथाभावी नृत्य र गायनसम्बन्धी प्रतियोगिता गरेर ठगी धन्दा मौलाउन थालेपछि स्थानीय प्रशासनले निगरानी सुरु गरेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले ‘डान्स आइकन दाङ’ले स्थानीय प्रशासनसँग अनुमति लिएर प्रतियोगिता गरेको हो कि होइन आफूलाई थाहा नभएको भन्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

काफ्लेले भने, ‘गायन र नृत्य प्रतियोगिताका नाममा हुने कार्यक्रमलाई निगरानी सुरू गरेको छु । जिल्लामा कसैले पनि पूर्व अनुमति नलिएर प्रतियोगिता गरेर ठगी धन्दा चलाएको रहेछ भने जोसुकैलाई कारबाही हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी काफ्ले ‘डीआइडी’को गतिविधिबारे आफैले छानविन गर्ने चेतावनी दिएका छन् ।

स्रोतका अनुसार ‘डीआइडी’ले नृत्य प्रतियोगिताका नाममा अबै रकम असुली धन्दा चलाएको भन्दै प्रशासनमा उजुरी परेको छ ।

यो प्रतियोगिता ‘डी टेन ईन्टरटेन्मेन्ट’ले गरेको हो । यसका कार्यकारी निर्देशक तथा ‘डान्स आइकन दाङ’को (डीआइडी) को संयोजक बिष्णुकुमार देवकोटा हुन् ।

संयोजक देवकोटासँग डीआइडीको बैधानिकताका विषयमा दैनिक नेपाल डटकमले राखेको जिज्ञासामा भने, ‘हाम्रो संस्था कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ । कार्यक्रम सबै रेकर्ड गरेर राखिएको छ । प्रशासनले माग्यो भने सीडी दिन तयार छौँ । तर कार्यक्रम गर्नुअघि स्थानीय प्रशासनसँग कुनै अनुमति भने ल्याइएको छैन ।’ उनले आफूहरूले बैधानिक रुपमा काम गरेको दाबी गरेका छन् ।

प्रतिष्ठित तथा सर्वाधिक धनराशीको नृत्य विद्याको नृत्य प्रतियोगिता दाबी गरिएको ‘डीआइडी’ले शनिबार घोराहीस्थित एक होटेलमा कार्यक्रम गरेर ३० जना प्रतियोगी छनौट गरेको दाबी गरिएको छ । प्रतियोगिताका लागि कहाँबाट कसरी रकम प्राप्त भएको हो ? र राज्यलाई कति राजश्व तिरेको हो संस्थाले खुलाएको छैन ।

शनिबार घोराहीमा भएको कार्यक्रममा लोकराज लामिछाने, निर्देशक दीपक ओली र ध्रुब कमेडी, निष्मा घिमिरे, गोरन चौधरी, लोसिना लामिछाने र राजन कुमार वैष्य लगायतको सहभागिता रहेको थियो । यही समूहले ३० जना प्रतियोगी छनौट गरेको छ ।