काठमाडौं । आगामी भदौ ३१ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘ड्राइभर दाई’ले बुधबार राजधानीमा ट्याक्सी र्याली गरेको छ ।
रिलिज मिति नजिकिएपछि फिल्म युनिटले बागबजारदेखि बालाजुको अष्टनारायण हल, लगनखेल, बल्खुसहित राजधानीका प्रमुख स्थानमा ट्याक्सी र्याली गरेको हो ।
र्यालीमा फिल्मका निर्माता ज्ञानु श्रेष्ठ, राजेन्द्र गौतम, नायक प्रज्जवल गिरी, प्रकाश खत्रीलगायतको रहेको थियो । बिजी फिल्मस् प्रालिको व्यानरमा बीएस बलामी प्रस्तुतकर्ता रहेको फिल्ममा बाबु बलामीको निर्देशन छ ।
निर्देशक बलामीले गाडीमा काम गर्ने ड्राइभरको संघर्षलाई फिल्ममा देखाइएको बताए । ‘त्यसैकारणले पनि हामीले फिल्म प्रमोसनका लागि ट्याक्सीलाई प्रयोग गरेका हौं, धेरैजनाले गाडीको ड्राइभर भनेर उनीहरुलाई हेय भावले हेर्ने गर्दछन्, तर ड्राइभर पनि राम्रो र सभ्य किसिमको काम गर्ने मानिस हो भन्ने कुरा फिल्ममा देखाउन खोजेका छौं,’बलामीले भने, ‘त्यसकारण हामीले प्रमोसनको लागि नयाँ तरिका अपनाएका हौं ।’
फिल्ममा किशोर खतिवडा, सिमा केसी, प्रज्जवल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी, राजेन्द्र गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।
राजेन्द्र गौतम र ज्ञानु महर्जन निर्माता रहेको फिल्ममा गेहेन्द्र बज्राचार्य कार्यकारी निर्माता र दीपेश पाठक सह–निर्माता छन् ।
फिल्ममा निर्देशक बलामीकै कथा, टंक बुढाथोकी र राज सागरको संगीत, बब्बु थापा र निशा शर्माको नृत्य, श्री श्रेष्ठको द्वन्द्व, सौखिन तिमिल्सिना र मधुकर बलामीको सम्पादन र सुमन तण्डुकारको छायांकन छ ।















प्रतिक्रिया