काठमाडौं, ३० भदौ । सङ्गीतकर्मी सुनिल बर्देवाको पशुपतिस्थित आर्यघाटमा बुधबार साँझ हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।
चवालीस वर्षीय बर्देवाको मङ्गलबार साँझ शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो । उहाँको शवलाई छोरा स्वयम बर्देवाले दागबत्ती दिनुभएको सङ्गीतकार सुरेश अधिकारीले जानकारी दिनुभयो ।
उहाँको कमलपित्तका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको दुई छोरी एक छोरा रहेका छन् ।
बर्देवा गायन, सङ्गीतकार तथा गिटारिस्ट सबै विधामा उत्तिकै निपूर्ण मानिनुहुन्छ । उहाँले गाएको ‘गोरेटो अनि उस्तै छ गल्ली’ बोलको गीत निकै कर्णप्रिय र चर्चित छ ।
उहाँका चार गीतिसङ्ग्रह सार्वजनिक भएका छन् भने हजारभन्दा बढी गीतमा उहाँले एरेन्जरका रुपमा काम गर्नुभएको छ । जसमा ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनिल बर्देवा’लगायतका गीतिसङ्ग्रह छन् ।
त्यस्तै ‘बिहानीमा अनि साँझमा’, ‘जब म’ लगायत गीत निकै चर्चित छन् । उहाँले नवीन के भट्टराई, निमा रुम्बा, राजु लामालगायत चर्चित गायकसँग काम गर्नुभएको छ ।
काठमाडौंको धुम्बाराही निवासी उहाँको श्रीमतीको केही वर्ष पहिले नै निधन भइसकेको छ ।
यसैवीच, नर्वेमा रहनु भएका गायक मोहन नेपालले बर्देवाको निधनबाट आफू अत्यन्तै मर्माहत भएको भन्दै समवेदना दिनुभएको छ ।
‘राम्रा र लगनशील संगीतकर्मी सुनिल बर्देवाको निधनले नेपाली गीतसंगीतलाई ठूलो क्षति भएको छ’, नेपालले भन्नुभएको छ, ‘शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना दिन चाहन्छु ।
नर्वेमा बसोबास गर्दै आउनु भएका गायक नेपाल र बर्देवावीच राम्रो सम्बन्ध थियो । उहाँहरू समकालीन गायकका रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।















प्रतिक्रिया