१९ कार्तिक २०८३, बिहिबार

पेट पाल्न बुढेसकालमा गिट्टीको साहारा, ८० वर्षसम्मका बृद्धबृद्धा खुटियामा गिट्टी कुट्दै

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gitti-kutdaiधनगढी, २६ भदौ । कैलालीको अत्तरिया नगरपालिका वडा नम्बर ८ हुँदै बग्ने खुटिया नदी किनारमा जिविकोपार्जनका लागि गिट्टी कुट्नेहरुमा बृद्धावृद्धाको संख्या पनि कम छैन । नुन तेल किन्नकै लागि पैसाको जोहो गर्न करिब दर्जनको संख्यामा ७० वर्षभन्दा माथिका महिला तथा पुरुषहरु गिट्टी कुटिरहेका छन् ।

वृद्धवृद्धाहरुकै माझमा ८० वर्षीया खिमा बोहरा पनि दैनिक रुपमा गिट्टी कुटदै आउनुभएको छ । चाउरी परेका गाला र बुढो शरीरलाई घामबाट जोगाउन छाता अड्याएर उहाँ विगत तीन वर्षदेखि खुटिया किनारमा गिट्टी कुट्दै आउनुभएको हो । पसिनाले निथ्रक्क भिजेको शरीरलाई आराम दिँदै गिट्टी कुटिरहनुभएकी बोहराको हातमा ठेला समेत परिसकेका छन् । धुलाम्य भएको शरीरमा पोतिएको धुलो र सुकेका ओठले उहाँको रुप कुरुप बनिरहेको छ ।

‘छोरा, बुहारी नातीनातिना सहितको सात जनाको परिवार पाल्न प्रसस्त जमिन छैन’ उहाँले भन्नुभयो, ‘अरुको जमिन अदिया पनि बनाएका छौं, त्यहि पनि पेट पाल्न काम गर्नुनै पर्छ ।’

निधारमा बगेको पसिना पुछ्दै खिमाले भन्नुभयो, ‘म अहिले कान्छो छोरासंग बसिरहेकी छु’ घरको अवस्था खासै राम्रो छैन, पेट पाल्नकै लागि काम त गर्नुप¥यो ।’ उहाँले केही दिन–महिना लगाएर कुटेको गिट्टी बेचेर आएको रुपैयाँले घरमा दाल, चामल, नुन–तेल लगायत किन्ने गरेको बताउनुभयो । ‘तीन–चार महिना लगाएर एक ट्राली अर्थात चार घन मिटर जति गिट्टीसम्म फुटाउछुँ’ उहाँले भन्नुभयो, ‘एक घनमिटरको एक हजार देखि १२ सय रुपैयाँसम्म दिन्छन्, यसैबाट गुजारा चलाउछौं ।’

सकिनसकी नदी किनारमा गिट्टी कुट्दै आउनुभएकी खिनाले ८० वर्षको उमेर पुगिसक्दासम्म सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउनुभएको छैन । बृद्धबृद्धाको लागि भत्ता पाइन्छ भन्ने सुनेको भएपनि कसैले नबनाईदिएका कारण अहिलेसरम्म आफुले भत्ता पाउन नसकेको दुखेसो गर्नुभयो । भत्ताको कुरा गर्ने वित्तिकै केही उत्साहित भएर बोल्नुभएकी खिमाले भत्ताको लागि कुरा गरिदिन पत्रकारहरुलाई नै आग्रह गर्नुभयो । ‘अब घरमा गएर भत्ताका बारेमा छोरा बुहारीसंग कुरा गर्छु’ उहाँले भन्नुभयो, ‘सकिन्छ भने तपाईहरुपनि भत्ताका लागि पहल गरिदिनुहोला बाबु ।’

जीवनको उत्तराद्र्धमा पेट पाल्नकै लागि खिमा मात्रै होइन अन्य बृद्धबृद्धाहरु पनि दैनिक रुपमा खुटिया किनारमा गिट्टी कुट्न बाध्य छन् । विहानको मिर्मिरे उज्यालोसंगै बृद्धबृद्धाहरु सुर्य नअस्ताउञ्जेलसम्म खुटिया किनारमै गिट्टी कुट्ने काम गर्छन् । बल्मीकै ७० वर्षीया मन्दरीदेवी श्रीमालले पनि आफुले विगत ८ वर्षदेखि खुटिया किनारमै बसेर गिटी कुटिरहेको बताउनुभयो । उहाँले यहि गिट्टीबाटै आफ्नो जिविको चलाइराख्नुभएको बताउनुभयो । ‘जमानामा पहाडमा थियौं, अहिले तराई आएर यो बुढेसकालमा नदी किनारमा बसेर गिट्टी कुट्नु परेको छ’, उहाँले भन्नुभयो, ‘शरीर पनि कमजोर भयो, ज्यानमा सन्चो छैन ।’

७० वर्षकै धौले ठकुल्ला पनि दुई वर्षदेखि सोही ठाउँमा गिट्टी कुट्दै आउनुभएको छ । उहाँका दुई छोरामध्ये एक छोरा भारतका काम गर्नुहुन्छ भने एक छोरा घरमै हुनुहुन्छ । उहाँले आफुसँगै बुहारी पनि गिट्टी कुट्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालय विदाको दिन नाती नातिनीहरु पनि पनि गिट्टी कुट्न आउने गर्छन् ।’ बृद्धबृद्धाहरुको प्रतिप्रश्न छ, ‘पेट भर्न काम गर्नुपर्छ, हामी जस्तोले अरु के काम नै गर्न सक्छौं, नदी किनारमा बसेर यही गिट्टी नकुटे कसरी पेट भर्नु ?’

आम्दानीको अन्य स्रोत नहुँदा छाक टार्नका लागि नजिकै रहेको खोलाबाट ढुंगा बोकेर ल्याउँने र किनारमा कुट्ने बृद्धबृद्धा लगायत सबैको दिनचर्या यसरी नै वित्ने गरेको छ । खुटिया किनारमा बृद्धबृदासंगै बालबालिका, एकल महिला, विपन्न, बेसाहारा लगायले दिनभर गिट्टी कुट्ने गरेका छन् । उनीहरुका लागि खुटिया किनार बाँच्ने आधार बनेको छ । कडा मेहनतमा थोरै रुपैयाँ आउने भएपछि उनीहरु आफ्नो जीवनको मुख्य आधार खुटियाको गिट्टीलाई बनाइरहेका छन् । यस क्षेत्रमा धेरै नदीजन्य सामग्री उपलब्ध हुने खुटिया पुलका आशपासमा धेरैले गिट्टी कुटेर जीवन चलाइरहेका छन् ।