चितवन, २५ भदौ । थारु पत्रकार संघ नेपालले ‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका गणेश चौधरीलाई प्रदान गरेको छ । चितवनको सौराहामा आयोजित पाँचौं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलामा पत्रकार चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो ।
थारुका समसमायिक मुद्दा र टीकापुर घटनापछि उब्जेको असहज परिस्थितिमा पनि निरन्तर थारुका मुद्दा उठाइरहेका उनलाई संघको केन्द्रीय कार्यसमितिले पुरस्कार दिने निर्णय गरेको हो । हालसालै उनले कृष्णराज सर्वहारीको संयुक्त लेखमा ‘थरुहट आन्दोलन ः टीकापुरको कथा’नामक किताब बजारमा ल्याएका छन् । पुरस्कार राशि ११ हजार एक सय ११ रुपैयाँ रहेको छ ।
उनले पुरस्कार ग्रहण गर्दै यसले थप जिम्मेवारी प्रदान गरेको बताए । ‘यो पुरस्कार दिएर मलाई थप जिम्मेवारी प्रदान गर्नुभएको छ । यो जिम्मेवारी मैले राम्रोसँग बहन गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ उनले भने ।
यो पुरस्कार थारु पत्रकार संघ नेपाल र सतौन स्मृति ट्रस्टको पहलमा स्थापना गरिएको हो । उक्त ट्रस्ट नेपाली कांग्रेसका सांसद एवं नाइटिङ्गेल फाउन्डेसनका फाउन्डर तेजुलाल चौधरीले आफ्नो बुबाको नाममा स्थापना गरेका छन् । सोही ट्रस्टबाट सांसद चौधरीले वर्षेनि ११ हजार १ सय ११ रुपैयाँको पुरस्कार घोषणा गरेका हुन् ।
त्यस्तै थारु पत्रकार संघ नेपालको दाङ शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ । प्रमुख अतिथि डा. मनोजकुमार चौधरीले दाङ अध्यक्ष सन्तोष दहितलाई पुरस्कार र सम्मान पत्र प्रदान गरेका हुन् ।
कार्यक्रमको सम्बोधन गर्दै ओएसिस मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. चौधरीले थारु पत्रकारिता पुरस्काका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्ष्यकोष स्थपना गरिदिने घोषणा गरेका छन् । उनले थारु पत्रकारहरुलाई प्रोत्साहस्वरुप उक्त अक्ष्यकोष रकम दिन लागेको बताए । ‘पहिलोपटक हाम्रो ठाउँमा आएर राष्ट्रिय भेला गर्दै हुनुहुन्छ । यही अवसरमा थारु पत्रकारहरुलाई प्रोत्साहनस्वरुप एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्ष्यकोष स्थापना गरिदिन घोषणा गर्दछु,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने ।
त्यस्तै एक दिने भेलाले ९ बुँदे घोषाणा पत्र पनि जारी गरेको छ । भेलाले नेपालको संविधान २०७२ ले थारु समुदायलाई छुट्टै कलस्टरको व्यवस्था गरेकाले नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटा छुट्याउन माग गरेको छ । त्यस्तै थारु बाहुल क्षेत्रको कलस्टर नबिगारी प्रदेशको संरचना गर्न माग पनि भेलाले गरेको छ । भेलाले टीकापुर घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ । ‘२०७२ भदौ ७ गतेको टीकापुर घटनामा पक्राउ परेका निर्दोष थारुहरुलाई तत्काल रिहाई गरियोस् । घटनाको सत्यतथ्य छानबिन गरी निर्दोषलाई रिहाई र ८ गतेको थारुको घर जलाउनेहलाई तत्काल पक्राउ गरी कानुनअनुसारको सजाय दिई पीडितलाई उचित क्षतिपूर्ति दिइयोस्,’ घोषणा पत्रमा उल्लेख छ ।
त्यस्तै भेलाले रेशम चौधरीको फूलबारी एफएम सञ्चालनमा ल्याउन पनि सरकारसँग माग गरेको छ । ‘टीकापुरका पत्रकार रेशम चौधरीको घरसहित फूलबारी एफएम जलाइएको छ । त्यसको उचित क्षतिपूर्ति प्रदान गरियोस् । लिजमा लिएर एफएम सञ्चालन गरिरहेका पत्रकार योगेश रावलसहित अन्य पीडित पत्रकारलाई क्षतिपूर्तिको व्यवस्था गरियोस्,’ घोषणा पत्रमा उल्लेख छ ।
भेलाले पत्रकारको न्युनतम पारिश्रमिक दिन पनि सञ्चारमाध्यम सञ्चालनकर्तासँग अनुरोध गरेको छ । नेपाल सरकारको रातो किताबमै प्रकाशन भइसकेकाले भेलाले न्युनतम पारिश्रमिक दिन आग्रह गरेको हो ।













प्रतिक्रिया