काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको तयारी स्वरुप परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत आइतबार भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् ।
उच्च स्रोतका अनुसार परराष्ट्रमन्त्री डा.महत नयाँ दिल्लीमा पुगेर दाहालको भ्रमणको तयारी गर्ने छन् ।
प्रधानमन्त्री दाहालले भदौको ३० गतेदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । दाहालको भ्रमणलाई लिएर नयाँदिल्लीले तयारी सुरु गरिसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चार दिनको भ्रमणमा जान लागेका दाहालले पनि भारतसँग कुन कुन विषयमा कुरा गर्दा ठीक हुन्छ भनेर विज्ञहरूका साथै विभिन्न राजनीतिक दलका नेताहरूसँग परामर्श गर्दै आएका छन् ।
भोलि आइतबार नयाँदिल्ली पुग्ने परराष्ट्रमन्त्री डा.महतले भारतीय विदेश मन्त्री र बरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ ।
प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हैदराबाद हाउसमा भेट्ने छन् ।
भेटका क्रममा दाहाल र मोदीवीच केही सम्झौता हुने समाचारमा उल्लेख छ । भ्रमणका बेला दाहालले भारतीय राष्ट्रपति प्रणब मुखर्जीसँग पनि औपचारिक कुराकानी गर्ने जनाइएको छ ।











प्रतिक्रिया