काठमाडौं, २५ भदौ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक पटक फेरि गोलबन्द भइ एकीकृत जनक्रान्तिको कार्यदिशालाई अगाडि बढाउन निर्देशन दिएका छन् ।
अज्ञात स्थानमा दुई दिनसम्म चलेको गोप्य प्रशिक्षणमा महासचिव ‘विप्लव’ले राजनीतिक कार्यदिशालाई कार्यान्वयनमा गाउँ तहसम्मै जनतालाई बुझाउनुपर्ने बताएका हुन् ।
‘पार्टीले अबलम्बन गरेको एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशालाई गाउँ र नगरसम्म पुगाउनुपर्छ’, उनले भने, ‘यसलाई जनतासम्म पुगाउने दायित्व तपाई हाम्रो हो । एक पटक एकीकृत जनक्रान्तिको कार्यदिशाका लागि संघर्ष गरौँ । तपाईहरूको साथ अनिवार्य छ ।’
प्रशिक्षणमा जम्मा भएका झण्डै दुई सय नेता तथा कार्यकर्तालाई महासचिव ‘विप्लव’सहितका शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा सहभागी एक नेताका अनुसार महासचिव ‘विप्लव’ले आगामी फागुन १ गते हुन लागेको महाधिवेशनलाई भव्य बनाउन र गाउँदेखि नगर समितिहरूको अधिवेशन गरी नयाँ नेतृत्व ल्याउन पनि निर्देशन दिएका थिए ।
वर्तमान प्रचण्ड नेतृत्वको सरकार पनि भ्रष्टाचारी र कालोबजारी गर्ने व्यापारी तथा तस्करहरूसँग मिलेको आरोप लगाउँदै ‘विप्लव’ले सडक संघर्षबाट सबैलाई झुकाउनु पर्ने अवस्था आइपरेको बताएका छन् ।











प्रतिक्रिया