काठमाडौं, २५ भदौ । एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान सशोधनका विषयमा कांग्रेस र माओवादी केन्द्रसँग कुनै कुराकानी नभएको बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै सचिव ज्ञवालीले एमालेसँग संविधान संशोधनका विषयमा कुनै कुराकानी नभएको बताउनभयो ।
‘संविधान संशोधनका विषयमा हामीसँग कुनै कुराकानी भएको छैन । त्यस विषयमा एमालेलाई थाहा छैन’, उहाँले भन्नुभयो, ‘संविधान संशोधन अहिलेको अवाश्यक्ता होइन । संविधान कार्यान्वयन प्रमुख चुनौती र दायित्व हो ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जानुअघि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी भइरहेका बेला प्रमुख विपक्षी दल एमालेले सो विषयमा आफूलाई कुनै जानकारी नरहेको जनाएको हो ।
सञ्चारमाध्यममा आउने विषयमा आफूहरूले कुनै टिप्पणी नगर्ने एमाले सचिव ज्ञवालीको भनाइ थियो ।
सञ्चारमाध्यमहरूमा कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन गर्ने तयारी गरिरहेको सुनेका बताउनुभएका उहाँले भन्नुभयो, ‘हामीसँग त्यस विषयमा कुनै पनि कुराकानी भएको छैन ।’
प्रचण्डले किन एमालेसँग सो विषयमा परामर्श नगरेका हुन् त्यसबारे सत्तारुढ दलहरूले नै जवाफ दिनुपर्ने उहाँको भनाइ छ ।











प्रतिक्रिया