काठमाडौं, २४ भदौ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आसन्न भारत भ्रमणलाई राजनीतिक भेटघाटमा मात्र सिमित नराख्न सुझाव दिएका छन् ।
सिंहदरबारमा आज दिउसो भएको भेटघाटमा दुबै नेताबीच संविधान संशोधन र प्रधानमन्त्रीको भारत भ्रमणमा कुराकानी केन्द्रित रहेको थियो । सदभावना अध्यक्ष महतोले भ्रमणलाई राजनीतिक भेटघाट भन्दा पनि नेपालमा निवेश बढाउने र युवाहरुको लागि रोजगारको अवसरलाई बढ़ावा दिनमा केन्द्रित राख्ने सुझाव दिनुभयो ।
प्रमसँगको भेटघाटपछि महतोले भने ‘मधेशको १ लाख युवालाई रोजगारीको अवसर जुटाई दिने एजेण्डालाई भ्रमणको एजेण्डा बनाई दिन मैले सुझाव दिएको हुँ ।’ भारत सरकारको अति महत्वाकांक्षी योजना स्किल डेवलपमेंट प्रोग्रामसंग नेपाललाई खास गरि मधेशको युवालाई जोड्ने सुझाव दिएको महतोले जानकारी गराए ।
नेपालमा रोजगारीको अवसर नभएको हुनाले प्रत्येक वर्ष लाखौ युवाहरु खाड़ी लगायत अन्य मुलुकमा गई काम गर्न बाध्य भएको कुरा स्मरण गराउँदै सदभावना अध्यक्ष महतोले नेपालका युवाहरुलाई प्रत्येक क्षेत्रमा दक्ष बनाई देशमा स्वरोजगारी बढाउन र विदेश जांदा पनि दक्ष कामदारको रुपमा गए अनेक दुःख र कष्टबाट जोगिन सक्ने सुझाव दिएका छन ।
महतोले स्किल डेभेलपमेंट योजनालाई द्विपक्षीय वार्ताको एजेण्डा बनाउन मांग गर्दै भारत सरकारसंग तकनिकी सहयोगको सम्झौतामा दुबै देश बीच हस्ताक्षर हुने माहौल बनाई दिन मांग गरेका छन । उनले भारत सरकारको आर्थिक सहयोगमा संचालित परियोजनालाई पूरा गर्नुको साथै यो फरक खाले समझौतामा नेपाल सरकारको तर्फबाट प्राथमिकताका साथ राख्ने माग गरे ।
१ लाख युवालाई दक्ष बनाउनको लागि ३ अर्ब ५० करोड़ रुपैया लाग्ने र त्यसको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला दिएको १ मिलियन डलरबाट उपयोग गर्नुपर्ने सुझाव समेत आफूले प्रधानमन्त्री प्रचण्डलाई दिएको कुरा महतोले बताए ।
उनले ७० प्रतिशत राजश्व आउने र राष्ट्रको ६० प्रतिशत जीडीपीको योगदान पनि तराई मधेशबाट हुने भएकोले सरकारले मधेशको युवाको स्वरोजगारीको लागि रकम खर्च गर्दा समेत सरकारी ढुकुटीमा २ अरब रुपैया वार्षिक थप्ने दाबी गरे ।












प्रतिक्रिया