काठमाडौं, २३ भदौ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले द्वन्दका घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट टुंग्याउनुको साटो त्यसैमा नाफा कमाउन केही तत्वहरु लागेको बताउनुभएको छ ।
नयाँ शक्ति नेपालको कार्यालय बबरमहलमा भएको जनयुद्धका शहीद सुरेश वाग्ले र भीमसेन पोख्रेलको १८ औं स्मृति सभामा उहाँले भन्नुभयो – ‘सत्यनिरुपण मेलमिलाप आयोगको गठन गरिएको छ, तर दुर्भाग्य नेपालमा जुनसुकै कामको सुरुवात गर्दा गलत र अवसरवादी तत्वहरुको घुसपैठ हुन्छ । र ती तत्व विपत्तिमा पनि लाभ लिने निकृष्ट चरित्रका छन् जसले काम गर्न दिँदैनन ।’
उहाँले डलरको भरमा द्वन्दका १०÷१२ वटा मुद्दालाई पालैपालो उठाएर त्यसैको वरिपरि अरवौंको खेती भइरहेको समेत बताउनुभयो । वृहत शान्ति सम्झौताले द्वन्दका दुवै पक्षलाई एकै ठाउँमा ल्याएर मेलमिलापको वातावरण बनाउने आयोगको गठन भएको उल्लेख गर्दै उहाँले त्यसलाई गिजोलेर एक–अर्काप्रति प्रतिशोध साध्ने वतावरण नबनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले अहिले केही मान्छेहरुले द्वन्दका घटनालाई ‘बाँदरको घाउ’ जस्तै कोट्याएको कोट्याएकै गरेर शान्ति सम्झौता अनुरुप काम गर्न नदिएको बताउनुभयो ।
सत्य निरुपण मेलमिलापको आयोग र मेलमिलाप आयोगलाई कामकाजी बनाएर २०५२ साल फागुन १ बाट २०६३ साल मंसिर ५ गतेसम्म भएका सबै घटनाका यिनै आयोगबाट सत्य–तथ्य छानविन गरेर टुंगो लगाउनुपर्ने बताउनुभयो । उहाँले समाज परिवर्तनका लागि रगत बगाउने योद्धा पार्टी विशेषको नभई राष्ट्रकै शहीद हुने बताउनुभयो । संयोजक भट्टराईले भन्नुभयो – ‘द्वन्द्वपीडितहरुको समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छौं, हामी फेरि पनि गराउँछौं र आवश्यक पर्दा जनदवाव सिर्जना गरेर पनि छिटो भन्दा छिटो यसलाई हल गर्नका निम्ति पहल गर्छाै ।’
सभामा बोल्दै शहीद सुरेश वाग्लेका छोरा दिपक वाग्लेले अग्रगामी परिवर्तनको लागि युद्ध र आन्दोलनमा रगत बगाउने योद्धाको सम्मान सधैं उच्च हुनुपर्ने बताउनुभयो । उहँ“ले बुबाले परिवर्तनको लागि पुर्याएको योगदानको बारेमा संक्षिप्त उल्लेख गर्दै भन्नुभयो – ‘द्वन्द व्यवस्थापन र शहीद वेपत्ताका परिवारलाई राज्यले केही दशकसम्म संरक्षण गर्नु पर्दछ ।’
शहीद भीमसेन पोख्रेलका भाई रमेश पोख्रेलले बलिदानीबाट आएको गणतन्त्र र राजनीतिक व्यवस्था भ्रष्ट र तस्करहरुले अपहरण गरेको र त्यसलाई मुक्त गर्नुपर्ने बताउनुभयो । उहाँले बेपत्ता छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग केही मान्छेको लुटिखाने भाँडो बन्दै गएको बताउनुभयो । उहाँले नयाँ शक्तिले शहीद, वेपत्ता, घाइते परिवारको सम्मानको लागि राज्यद्वारा सुविधा दिनको लागि कार्डको व्यवस्था गराउन पहल गर्न आग्रह समेत गर्नुभयो ।












प्रतिक्रिया