गोरखा, २३ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बाह्य चलखेल र चरम सत्तास्वार्थका कारण राजनीतिक स्थिरता नभएकोले विकास निर्माणका कार्यहरु लक्ष्य अनुरुप अगाडि बढ्न नसकेको बताउनुभएको छ ।
राप्रपा नेपालको सहभागिता रहेको अघिल्लो सरकारले स्थानीय निकायको अनुदान र सामाजिक सुरक्षा भत्ता दोब्बर बनाएको प्रसंग उल्लेख गर्दै अध्यक्ष थापाले ओली सरकारमा रहँदा राप्रपा नेपालले जनताका पक्षमा उदाहरणीय कार्यको थालनी गरेको बताउनुभयो ।
प्रजातन्त्रको आवरणमा देशका महत्वपूर्ण उद्योग, कलकारखानाहरु कौडिको मोलमा बेचेर युवाहरुलाई विदेशिन वाध्य बनाउनेहरुले मुलुकको विकास गर्न नसक्ने ठोकुवा गर्दै अध्यक्ष थापाले राप्रपा नेपालसँग मात्र देश विकासको दिर्घकालीन मार्गचित्र भएको हुँदा राप्रपा नेपाललाई सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।
राप्रपा नेपाल गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले गोरखा आउँदा आफूलाई पृथ्वीनारायण शाहलाई देखेजस्तो, भेटेजस्तो र उहाँ हिँडेकै बाटो हिँडिरहेको जस्तो अनुभूति भएको बताउँदै नेपाललाई समुन्नत बनाउने पृथ्वीनारायण शाहको सपनालाई साकार पार्न राप्रपा नेपाल अहोरात्र लागीपरेको हुँदा सफलता हातलाग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । राष्ट्रियता, प्रजातन्त्र र हिन्दुत्वको जगमा उभिएर सवल, समुन्नत र समृद्ध नेपाल निर्माण गर्ने राप्रपा नेपालको चाहना रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र बनाउन जनता सक्रिय हुनुपर्ने बताउँदै सोको लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सांसद सुशील श्रेष्ठ, ४ नम्बर प्रदेश संयोजक हेमजङ्ग गुरुङ, केन्द्रीय सदस्य प्रेम श्रेष्ठ, पार्टीका पूर्व जिल्ला अध्यक्ष विष्णुहरि अर्याल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो भने स्वागत मन्तव्य भीषण अर्यालले व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपाल प्रवेश गर्ने युवाहरुलाई पार्टी अध्यक्ष कमल थापाले सदस्यता वितरण गर्दै स्वागत गर्नुभएको थियो ।












प्रतिक्रिया