काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका युवा नेता गगन थापा स्वास्थ्य मन्त्री भएको हप्ता दिन भित्रै निरीक्षणका क्रममा वीर अस्पतालमा पुगेर त्यहाँ भएका अनियमितता र भ्रष्टाचारका सम्बन्धमा आफु चुप नबस्ने र एक सय दिन भित्र सुधार नभए कारबाही प्रक्रिया अगाडि बढाउने बताएपनि वीरमा भने भ्रष्टाचार बढिरहेकै छ ।
स्वास्थ्य मन्त्री थापाले आफू मन्त्री भएपछि वीर अस्पतालको निरीक्षणका क्रममा सुध्रनका लागि समय दिएको बताउँदै अझै पनि भ्रष्टाचार र अनियमितता गरेमा कारबाही गर्ने बताएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
वीर अस्पतालमा शैक्षिक अभ्यासको विश्वव्यापी मान्यता विपरित सह प्राध्यापक भएर उपकुलपति भएका डा. गणेश गुरुङ उपकुलपति हुनासाथ आफै निर्णय गरेर प्राध्यापक भएका हुन् ।
उनै गुरुङ यतिबेला डिन योहनचन्द्र सिवाकोटी र बलात्कारी छुटाउन वीर अस्पतालकै किर्ते कागजात बनाउने सेवा आयोग सचिव लक्ष्मण अर्यालसँग मिलेर चरम अनियमितता र भ्रष्टाचार गरिरहेका छन् । उपकुलपति गुरुङले अर्याल जस्ता अदालतबाट धरौटीमा छुटेका किर्तेधारीलाई हाजिर गराई सेवा आयोगको सचिव जस्तो पदमा वहाली गराई रहेका छन् ।
गुरुङको समूहले २०७१ सालमा भएको प्रमाणपत्र नर्सिङ तहको प्रवेश परिक्षामा एउटा परिक्षार्थीको स्थानमा एक वर्ष अघि नै प्रवेश परिक्षा पास गरी शिक्षण अस्पतालमा नर्सिङ प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई परिक्षा दिन लगाई पास गराएर लाखौं कमिसन बुझेको खुलिसकेको छ ।
महाभूकम्पकको समयमा गुरुङ र उनको समूहले आफू निकट गौतम मेडिकल डिस्ट्युविटर क्षेत्रपाटी र अन्य औषधी व्यापारीसँग बजार मूल्य भन्दा दोब्बर मूल्यमा औषधी खरिद गरी करोडौं कमिशन लिएको थियो ।
त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, स्वास्थ्य मन्त्रालय र सतर्कताको निर्देशन विपरित गुरुङको समूहले शाखा अधिकृत देखि कार्यालय सहयोगीसम्म ६० कर्मचारी नियुक्त गरी काममा लगाइ रहेका छन् ।
२०७२ सालमा सेवा आयोग मार्फत लिइएको परिक्षामा पनि अफू निकटलाई पास गराउन गुरुङको समूहले प्रतिव्यक्ति पाँच लाख उठाएर २५ जना आफु निकटका परिक्षार्थीको उत्तर पुस्तिका नै परिवर्तन गरी उतिर्ण गराई नियुक्ति दिएका छन् ।
त्यस्तै, ट्रमा सेन्टरमा पनि उपकुलपति गुरुङले ३५ जना कर्मचारी नियुक्ति गरेका छन् । हाल ट्रमा सेन्टरमा विरामीलाई गुरुङको समूहले एक लाख ५० हजारमा हुने स्पाइनल अप्रेसन अमेरिकन कम्पनीको सामान भन्दै डा. गौरभसँग मिलेर चार लाख ५० हजारसम्म लिने गरेको विरामीको विल हेर्दा छर्लङ्ग हुन्छ ।
गुङको समूहले वीर अस्पताल नर्सिङ क्याम्पस भएको स्थानमा बन्न लागेको ६ सय शैयाको अस्पताल पनि आफू निकटलाई टेण्डर दिन नपाएपछि रकम फ्रिज गराएका छन् ।
सरकारी नियम अनुसार भवन विभागले टेण्डर गर्नुपर्नेमा गुरुङले आफूले नै टेण्डर गर्न पाउनु पर्ने अडान राख्दा रकम फ्रिज भएको हो ।
यतिमात्र होइन गुरुङले नर्सिङ क्याम्पस सार्ने विषयमा पनि मासिक तीन लाख भाडा तिर्नेलाई नदिएर सात लाख बुझाउनेलाई दिन खोजेपछि उक्त निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । वीर अस्पतालको क्यान्सर विभागको रेडियसन मेसिन पनि गुरुङले आफू निकटकालाई पार्न नसकेपछि १२ करोड रकम पनि फ्रिज भएको छ ।
रेडियसन मेसिनको १२ करोड रकम फ्रिज भएको विषयमा मन्त्री आफैले अस्पताल पुगेको समयमा जानकारी लिएका थिए । मन्त्रीलाई वीरका कर्मचारीहरुले भ्रष्टाचार र अनियमितताका बारेमा सम्पूर्ण विषयमा जानकारी गराइसकेका छन् भने मन्त्रीले पनि कारबाही गर्ने बचन दिएको बुझिएको छ ।
तर, वीरका सचेत कर्मचारीहरु भने वीरमा भएको भ्रष्टाचार र अनियमितताका बारेमा जानकारी पाएर पनि मन्त्रीले कारबाही प्रक्रिया अगाडि बढाउन किन ढिला गरेका हुन् ? भन्दै प्र्रश्न गर्न थालेका छन् ।
वीरका एक कर्मचारी भन्छन्–‘गुरुङ र उनको समूहले गरेको भ्रष्टाचार र अनियमितताका सम्पूर्ण प्रमाणहरु अस्पताल भित्रै छन्, यस विषयमा हामीले मन्त्रीज्यूलाई पनि जानकारी गराइसकेका छौं ।
मन्त्रीज्यूले नसुध्रिए कारबाही प्रक्रिया अगाडि बढाउने बचन दिनुभएको छ, आशा गरौं अब वीरमा किलो गाडेर बसेका भ्रष्टाचारीहरुको किलो उखेलिने छ ।’















प्रतिक्रिया