काठमाडौं, २१ भदौ । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा प्रहरी र नेपाल चलचित्र विकास बोर्डको संयुक्त टोलीले छापामारेर नेपाली फिल्महरूको पाइरेशी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
गंगबु, बालाजु र सामाखुसी क्षेत्रमा संयुक्त अनुगमन टोलीले मंगलबार छापामारेर पाइरेशी गर्ने तीन जनालाई पक्राउ गरेको चलचित्र विकास बोर्डका सदस्य एवम् निर्माता करण श्रेष्ठले जानकारी दिए । नायक समेत रहेका श्रेष्ठका अनुसार नेपाली फिल्मका सिडी बनाएर बिक्री गर्ने समूहलाई गोप्य स्ूचनाका आधारमा छापामारेर नियन्त्रणमा लिइएको हो । उनीहरूलाई कानून अनुसार कारबाही गरिने निरीक्षक पूर्णिमा चन्दले बताइन् ।
संयुक्त टोलीले छेस्को, पशुपति प्रसाद, प्रेम गीत, ठमेल डटकम, के यो माया हो, जंजिर, ओम, जंगभूमि, एटिएम, आवरणलगायत झण्डै पचास फिल्मको नक्कली सिडी बरामद गरिएको बोर्ड सदस्य श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका तीन जनालाई महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क गंगबुमा राखिएको छ । छापामार्न प्रहरी निरीक्षक पूर्णिमा चन्दको नेतृत्वमा टोली पुगेको निर्माता श्रेष्ठले बताए । संयुक्त टोलीमा प्रहरी नायव निरीक्षक खेम पंगेनी, चलचित्र विकास बोर्डका कर्मचारीद्वय विजय शर्मा र लिगेज भट्टराईलगात रहेका थिए ।















प्रतिक्रिया