१९ कार्तिक २०८३, बिहिबार

फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्न माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhn-news

धनगढी, २१ भदौ । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्री र श्रममन्त्रीको ध्यानाकर्षण गराएको छ ।

केन्द्रले प्रमुख जिल्ला अधिकारी मार्फत् सोमवार प्रधानमन्त्री र श्रम कार्यालय मार्फत् श्रममन्त्रीलाई ज्ञापन पत्र पठाएर ध्यानाकर्षण गराएको हो । ज्ञापन पत्रमा कामदारलाई शुन्य लागतमा बैदेशिक रोजगारमा जान पाउने अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।

नागरिकले रोजगारीको प्रक्रियाका लागि कुनै किसिमको आर्थिक भार व्यहोर्नु नपर्ने अवस्था सिर्जना गर्न अहिलेसम्म भएका निर्णयको प्रभावकारी कार्यान्वयन गर्दै नयाँ थप कानूनी व्यवस्था तय गर्न पनि माग गरिएको छ । ‘विश्वासिलो, प्रभावकारी र सहज उजुरी प्रक्रिया र कामदारको मानव अधिकारको सुरक्षा गर्न माग गर्दछौ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘नेपाली कामदारहरुको रोजाईको गन्तव्य मुलुकहरुसँग यथाशिघ्र अनिवार्य द्विपक्षीय श्रम सम्झौता गर्न माग गर्दछौ ।’

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोविन्द्र रिजालले आप्रवासी कामदारको हकहितका लागि आफूले पनि सक्दो पहल गर्ने बताए । उनले आप्रवासी कामदारले बैदेशिक रोजगारमा जाँदा पैसा तिर्नुपर्ने स्थिति अन्त्य गर्न नागरिक समाज, सम्बन्धित सरोकारवाला, प्रशासन र प्रहरीको भूमिका अहम रहेको रहेको बताए ।

श्रम कार्यालयका प्रमुख जयदेव विष्टले बैदेशिक रोजगार ठगीको सञ्जाल पश्चिममा फैलिसकेकोले यसलाई तोड्न आप्रवासी कामदार, नागरिक समाज र सम्बन्धित सरोकारवालाको हातेमालो आवश्यक रहेको बताए । उनले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गराउन सबैले मिलेर कमद चाल्नुपर्ने बताए ।

आप्रवास कामदार हकहित संरक्षण केन्द्र कैलालीका अध्यक्ष श्याम देवलले बैदेशिक रोजगारमा पठाइरहेका म्यानपावर कम्पनीहरुलाई रोजगारदाताले नै कमिसन दिइरहेको भएपनि कामदारबाट असुल्ने काम भइरहेको बताए । उनले यस्तो अवस्था कम गर्न ल्याइएको फ्रि भिसा फ्रि टिकटको प्रावधान कार्यान्वयन हुन नदिन चलखेल भइरहेकाले प्रधानमन्त्री र श्रममन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।