काठमाडौं, २१ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले कसैको दबाब र स्वार्थमा संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
दुई साता लामो उपचारपछि सोमबार थाइल्याण्डबाट फर्किएका एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनको औचित्य प्रष्ट पार्न सरकारलाई आग्रह गरे ।
‘कुनै दबाब, बहकाउमा कुनै पनि हिसावमा देशको अहित हुने गरी लोकतन्त्रलाई अप्ठ्यारो पार्ने गरी कसैको स्वार्थ अर्घेल्याईं सम्बोधन गर्ने नाममा संविधान सशोधन गर्ने विषय होइन’, उनले भने । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
आन्दोलनकारीका मागअनुसार एकपटक संविधान संशोधन भइसकेको उल्लेख गर्दै ओलीले नयाँ मागबारे आफू जानकार नभएको बताए ।
‘एकपटक संविधान बन्नेवित्तिकै पनि संशोधन गर्यौं, उहाँहरुका माग सम्बोधन गर्यौं’, उनले भने, ‘अब के माग हुन् ? जसले भनिरहनुभएको छ, उहाँहरुसग कुनै माग देखिंदैन, उहाँहरुले भन्नुभएको छैन ।’
संविधान संशोधनको औचित्यबारे सरकारले पनि प्रष्ट पार्न नसकेको उनले बताए । ‘सरकारका तर्फबाट यो-यो बुँदामा यसरी गर्नुपर्यो भनेर आएको छैन’, उनले भने, ‘अखबारी हल्लाहरु, सञ्चारमाध्यमका कुराका भरमा केही भनिरहनु आवश्यक छैन ।’
ओलीले संविधान गतिशील दस्तावेज भएको बताउँदै तर लडहवाजी, जिद्धि र आग्रह राखेर संविधान संशोधन हुन नसक्ने बताए । ‘देशको आवश्यकता, अग्रगमनका लागि, देशका इज्जत प्रतिष्ठालाई माथि उठाउन संशोधन गर्न सकिन्छ’, उनले भने ।















प्रतिक्रिया