काठमाडौं, १९ भदौ । उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का पूर्व सचिव बुद्धि पुडासैनीको निधन भएको छ ।
५१ वर्षीय पुडासैनीको आज उपचारका क्रममा मुत्रथैलीमा क्यान्सर रोगका कारण ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा निधन भएको हिसानका महासचिव लोकबहादुर भण्डारीले जानकारी गराउनुभयो ।
उहाँ ५ दिन अघिमात्र उपचारका क्रममा ग्राण्डी अस्पतालमा भर्ना हुनु भएको थियो ।
रेडन कलेज सामाखुसीका प्रबन्ध निर्देशकसमेत रहनु भएका पुडासैनीलाई सात महिनाअघि मात्र क्यान्सर भएको थाहा भएको हो ।
गोर्खामा जन्मिनु भएका उहाँ सामखुसीमा श्रीमती र तीन छोरासँगै बस्दै आउनु भएको थियो ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
पूर्व सचिव पुडासैनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न हिसानले मंगलबार देशभरि हिसान आवद्ध उच्च मावि-कलेजको पठनपाठन बन्द गर्ने निर्णय गरेको महासचिव भण्डारीले जानकारी गराउनुभयो । हिसानसँग देशभर करिब एक हजार ५० उच्च मावि तथा कलेज आवद्ध रहेका छन् ।
पुडासैनी हिसानको अघिल्लो कार्यकालमा सचिव रहनु भएको थियो । रासस












प्रतिक्रिया