काठमाडौं, १९ भदौ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले शनिबार औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र फिलिपिन्सतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधान सेनापति क्षत्री संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड र फिलिपिन्स सेनाको संयुक्त तत्वावधानमा फिलिपिन्सको मनिलामा भदौ २० गतेदेखि २२ गतेसम्म संचालन हुने एसिया प्रशान्त क्षेत्रीय देशहरुको सैनिक प्रमुखहरुको बार्षिक सम्मेलनमा भाग लिन फिलिपिन्स प्रस्थान गर्नुभएको हो ।
उक्त कार्यक्रममा भाग लिएपछि क्षत्रीले दक्षिण कोरियाको सियोलमा रिपब्लिक अफ कोरिया आर्मीले भदौ २२ गते देखि २५ गते सम्म आयोजना गर्ने प्रतिरक्षा सामाग्री प्रदर्शनी २०१६ मा सहभागी हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र अन्य मित्रराष्ट्रहरुका सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।
उक्त अवधिभर प्रधान सेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी वलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।
भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री भदौ २६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया