भक्तपुर, १८ भदौ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति भक्तपुरले राज्यको पुनःसंरचना गर्दा भक्तपुर जिल्लामा हाल रहेका छवटै नगरपालिकालाई कायम गर्न सिफारिस गरेको छ ।
समितिले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना हाल रहेकै छवटा नगरपालिकालाई स्थानीय तह र हालकै वडा सिमाना तथा केन्द्र कायम रहने गरी आयोगलाई सिफारिस गरेको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा जिल्लास्थित सबै राजनीतिक दलहरुले एउटै धारणा प्रस्तुत गरेका थिए ।
दलहरुले भक्तपुरका हालका छवटै नगरपालिकालाई यथावत् राख्नुपर्ने माग गर्दै जिल्लास्तरीय परामर्श तथा अन्तक्र्रिया कार्यक्रममा अहिले रहेका नगरपालिकाको संरचना बिगार्न नहुने सुझाव दिएपछि समितिले यस्तो सिफारिस गरेको हो ।
समितिले छवटै नगरपालिका, जिल्लाका कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, वौद्धिक वर्ग, संस्कृतिविद्, नागरिक समाजलगायतसँग विभिन्न चरणमा छलफल भएको थियो ।
स्थानीय तह पुनःसंरचना आयोगले उपत्यकाभित्र एउटा नगरपालिका निर्माण गर्दा न्यूनतम ९५ हजार जनसङ्ख्या र १३ सय वर्गकिमी क्षेत्रफल हुनुपर्ने मापदण्ड तयार गरेपछि भक्तपुरमा भने यो मापदण्ड पूरा गर्न भक्तपुर जिल्लालाई सिङ्गो उपमहानगरपालिका वा तीनवटा नगरपालिका बनाउन सकिने सुझाव आएपनि अन्तमा छवटै नगरपालिका हुनुपर्नेमा सबै अडिग रहेका थिए ।
विसं २०६८ को जनगणनाअनुसार भक्तपुर जिल्लामा दुई लाख ९८ हजार ७०४ जनसङ्ख्या रहेको छ भने जिल्लाको क्षेत्रफल ११९ वर्गकिमी रहेको जिविस भक्तपुरले जनाएको छ । रासस












प्रतिक्रिया