१९ कार्तिक २०८३, बिहिबार

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रदूषित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gokarneshwar mandir

काठमाडौँ, १७ भदौ । बाबुको मुख हेर्ने भाद्र कृष्ण औँसीका दिन आएका भक्तजनले फालेको फोहरले गोकर्णेश्वर मन्दिर क्षेत्र प्रदूषित बनेको छ ।

मन्दिर व्यवस्थापनका लागि जिम्मा लिएको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको गोकर्णेश्वर क्षेत्र प्रबन्ध समितिको लापर्बाहीका कारण फोहर व्यवस्थापन नभएको स्थानीयवासीको गुनासो छ ।

मन्दिर क्षेत्रमा जताततै टपरी, प्लास्टिकका झोला, खानेकुरालगायतका फोहर फालिएकाले यहाँ सङ्क्रमण हुन सक्ने सम्भावना बढेको स्थानीयवासी श्याम श्रेष्ठ बताउनुहुन्छ ।

“पितृप्रति सम्मान गर्ने प्रसिद्ध यस धार्मिकस्थलमा भौतिक पूर्वाधारको व्यवस्था नहुँदा मन्दिर क्षेत्र अव्यवस्थित भएको चचाँ गर्दै उहाँले भन्नुभयो – “मन्दिर क्षेत्र आसपासको जमिनलाई व्यवस्थित गरेर निश्चित ठाउँमा मात्र फोहर फाल्ने व्यवस्था मिलाएको भए मन्दिर क्षेत्र प्रदूषित नहुने र जम्मा गरिएको फोहर तत्काल उठाएर व्यवस्थापन गर्न सकिने थियो” ।
समितिले औँसीका दिन सडकभर राखिने बजारलाई निषेध नगर्नाले पनि फोहर बढेको हो । अव्यवस्थित बजार र प्लास्टिकका थैलाले बढी फोहर गरेको छ । प्रत्येक वर्ष पितृप्रति सम्मानका साथ तर्पण, सिदादान र श्राद्ध गर्न आउनेले सडक पार गर्न पनि नसक्ने गरी मूलसडकमै पसल सञ्चालन गर्ने गरेका र अत्यधिक भिड हुने गरेकाले त्यसदिन ट्राफिक प्रहरीले जोरपाटी–सुन्दरीजल सडकमा सवारी साधन सञ्चालनमा रोक लगाउने गर्दै आएको छ ।
पानी पर्दा फोहर बगाएर वाग्मती प्रदुषित बनाउने भएकाले छिटो फोहर व्यवस्थापन गर्नुपर्नेमा पूर्व गाविस अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ जोड दिनुहुन्छ ।
गोकर्ण क्षेत्रमा एउटै मात्र सार्वजनिक शौचालय हुँदा राष्ट्रिय सहिद स्मारक निर्माणस्थल यज्ञडोल सामुदायिक वन क्षेत्रमा खुला शौचालयको दुर्गन्ध फैलिएको छ ।
गोकर्णेश्वर नगरपालिकाले पनि मन्दिर क्षेत्रको फोहर व्यवस्थापन गर्न चासो देखाएको छैन । तर सो नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया मन्दिर व्यवस्थापनका लागि गठित समितिले नै फोहर व्यवस्थापन गर्ने जानकारी पाएको बताउनुहुन्छ ।
बिहीबार एकैदिन करिव डेढ लाख भक्तजन गोकर्णेश्वर मन्दिरमा पित्री मोक्षका लागि आएको पुजारी जगदीश भट्ट बताउनुहुन्छ ।रासस