१९ कार्तिक २०८३, बिहिबार

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक तीस हजार तोक्न प्रेस चौतारीको माग

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press-chautari

सिन्धुलीमाडी, १६ भदौ । प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक मासिक रु ३० हजार हुनुपर्ने माग गरेको छ ।

यहाँ सम्पन्न दुईदिने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पारित गरेको १३ बुँदे घोषणापत्रमा न्यूनतम पारिश्रमिक कम्तीमा रु ३० हजार पुर्याउन माग गरिएको हो । हाल पत्रकारको मासिक पारिश्रमिक रु १९ हजार ५०० निर्धारण गरिएको छ ।

बैठकले तत्काल विज्ञापन प्राधिकरण गठन गरी सो नीति कार्यान्वयनमा लैजान पनि जोडदार माग गरेको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षता सम्पन्न बैठकले ‘राष्ट्रिय आमसञ्चार नीति–२०७३’ जारी भएकोमा स्वागत गर्दै त्यसको अविलम्ब कार्यान्वयनका लागि व्यवस्थापिका–संसद्बाट अत्यावश्यक कानुन निर्माण गर्न जोडदार माग गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको राष्ट्रिय आमसञ्चार सङ्ग्रहालयलगायत सञ्चार सम्बद्ध निकाय तथा नीतिगत संरचना तयार भएकोमा तिनको अविलम्ब निष्पक्ष सञ्चालनको माग पनि चौतारीको छ ।

बैठकले संविधान बमोजिम ०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन गरी मुलुकलाई सङ्क्रमणकालबाट मुक्त गर्दै समृद्ध मुलुक निर्माणको आधार तय गर्न, अनलाइन निर्देशिका सञ्चारमैत्री ढाँचामा संशोधनसहित तत्काल लागू गर्न, सरकार र नेपाल पत्रकार महासङ्घको सहकार्यमा सुरु भएको पत्रकार दुर्घटना बिमालाई स्वास्थ्य बिमाका रुपमा समेत बिस्तार गर्न, ज्येष्ठ पत्रकार सम्मानवृत्तिलगायत कार्यक्रमको दायरा बढाउँदै मासिक रु पाँच हजार पुर्याउन पनि माग गरेको छ ।

यसैगरी, प्रेस काउन्सिल नेपालले पत्रकारितामा प्रवेशका लागि अनुमतिपत्र (लाइसेन्स) परीक्षा लिने तयारी भइरहेको चर्चाका सन्दर्भमा उत्पन्न हुनसक्ने जटिलता र अपेक्षित सकारात्मक पक्षका विषयमा देशव्यापी रुपमा परामर्श, छलफल गरी निष्कर्षमा पुग्न माग गरिएको छ ।

सञ्चारमाध्यमको वर्गीकरणका लागि निष्पक्ष, वैज्ञानिक र विश्वसनीय आधार बनाउन पनि बैठकले माग गरेको चौतारीका महासचिव राजेश राईले बताउनुभयो । रासस