चितवन, १६ भदौ । गत शुक्रबार त्रिशूली नदीमा बस खसेर बेपत्ता भएका बसका यात्रु फेला पर्न नसक्दा आफन्तमा पीडा बल्झिएको छ ।
बसमा सवार २१ जना घटनास्थलमै र एक जनाका उपचारका क्रममा मृत्यु भएका थिए भने बेपत्ता भएका तीन जनाको शव पछि भेटिएको थियो । अझै १० जना हराइरहेका छन् । अधिकांशका झोला, परिचयपत्र भेटिएकाले र घाइते भएकाहरुले बेपत्ताहुनेहरु आफूसँगै रहेको बताएपछि कतिपयले शव नभेटे पनि परम्पराअनुसार काजक्रिया गर्न थालेका छन् ।
एक सातासम्म त्रिशूली र नारायणी नदीको किनार चाहारेपछि सर्लाही सुदामा–८ का राजीवकुमार सिंहको परिवारले हिजोबाट हिन्दू परम्पराअनुसार काजक्रिया थालेको छ । जेठान अरविन्द सिंहले सोही बसमा सवार ज्वाइँको झोला र प्रवेशपत्र भेटिएपछि मृत्यु भएको भन्दै शव प्राप्त नभएपनि हिजोबाट उहाँकै निवास सुदामामा कुशको शव बनाई अन्त्येष्टि गरिएको बताउनुभयो ।
तीन वर्षकी छोरी श्रीमती र परिवार विच्छिप्त छन् शव भेटिनेको भन्दा नभेटिनेको पीडा बढी भएको उहाँले बताउनुभयो । मृतक सिंह अन्य साथीसँगै शिक्षा सेवा आयोगको परीक्षा दिन पोखरा जानुभएको थियो ।
नेपााल प्रहरीमा कार्यरत जीतेन्द्र साह छ दिनसम्म भाई दीपेन्द्र साहको खोजीपछि हिजो मात्रै घर फर्किनुभएको छ । चारजनाको समूहले छ दिनसम्म खोज्यौँ केही पत्तो लागेन । टेलिफोनमा उहाँले भन्नुभयो– “आमा र बुहारी बेहोस छन् पानीपटिृ लगाएर बसेको छु । बुबाको हालत त्यस्तै छ ।”
भाइसँगै बसमा सवार घाइते प्रमोद दासले बाटोमा कही पनि नझरेको बताएको र झोला पनि भेटिएकाले भाइको मृत्यु भइसकेको अनुमान गरिएको हो भन्दै साहले भोलिसम्म पनि शव भेटिएन भने काजक्रिया गर्ने बताउनुभयो ।
गाउँमा अरुले पनि काजक्रिया थालेको र काजक्रिया थालेपछि शव भेटिएको कतिपयले पुनः काजक्रिया गरेका छन् । भाइ गाउँको निजी स्कुलमा गणित पढाउने र बिहान बेलुका ट्युसन समेत पढाउने गथ्र्यो उहाँले भन्नुभयो ।
भारत रक्सौलका २९ वर्षीय राकेशकुमार गुप्ता सोही बसमा बेपत्ता भएपछि उहाँको परिवार दैनिक नदी तिरमा खोजीमा जुटिरहेको छ । आज पनि खोजी कार्यमा व्यस्त गुप्ताका भाइ राजकुमार गुप्ताले कतै खोज्दा पनि दाइ नभेटिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनमा भेटिनुभएका गुप्ताले मान्छेले फरकफरक कुरा गर्दा दुःख पाएको पनि बताउनुभयो । अब शव समेत चिन्न गाह्रो हुने उहाँको भनाइ छ । बेपत्ता भएका दाजु राकेश तनहुँको दुलेगौडामा मिठाइ र अन्य सामग्री मोटरसाइकलमा बिक्री गर्ने गर्नुहुन्थ्यो ।
दिनहुँजसो आफन्त जिल्ला प्रहरी कार्यालय चितवन बुझ्न आउने गरेका छन् । अब पनि बेपत्ता व्यक्ति नभेटिएमा उनीहरुको काजक्रिया गर्ने मनस्थितिमा अधिकांश पुगेका छन् ।
चलानी र टिकटमा स्पष्ट नलेखिँदा समस्या
सरकारी निकायको फितलो अनुगमन र यातायात व्यवसायीले यात्रुको सुरक्षामा चासो नदिँदा दुर्घटनापछि क्षतिको यकिन तथ्याङ्क आउन कठिन भएको हो । शुक्रबार गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नं को बस त्रिशूली नदीमा खस्दा कति बेपत्ता भए भन्ने अन्योल बढेको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयमा १३ जनाले आफन्त सोही बसमा परेर बेपत्ता भएको भनि निवेदन दर्ता गराएकामा तीन जनाको शव फेला परेको छ । बसको क्षमता ३९ सिटको हो । चालक दलका तीन गरी बसमा ४२ जना मात्रै रहेको चलानीमा उल्लेख छ । सामान्यतया बालबालिकाको टिकट काट्ने प्रचलन हुँदैन । घटनामा अनुसन्धान गर्दा उक्त बसमा ११ वर्षमुनिका पाँच बालबालिका घाइते भएका र एक जनाको मृत्यु भइसकेको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाही बालबालिकाले टिकट नकाट्ने र सिटभन्दा बढीको बिमा नहुने बताउनुहुन्छ । ट्राफिक नियम पालनाका लागि यात्रु सङ्ख्या बढी भए पनि सिटभन्दा बढीको चलानी काटिँदैन । शाहीले बसमा यात्रु कति थिए यकिन नभएको बताउनुभयो ।
यातायात व्यवसायीले प्रष्ट रुपमा टिकट काटेर चलानी तयार गरेमा यात्रुको सङ्ख्या यकिन गर्न कठिन छैन । तर सो बसको चलानीमा एक व्यक्तिको नाममा चार जनासम्म लेखेको पाइएको छ । जसका कारण यात्रुको पूर्ण विवरण चलानीमा देखिँदैन । यससँगै बसमा कति सवार थिए भन्ने अन्योल बढेको छ । यात्रुले नाम ठेगाना भन्न आनाकानी गर्ने र प्रहरीले जाँचमा वास्ता नगर्ने हुँदा चलानी र टिकटमा प्रष्ट नाम ठेगाना नलेखिने गरेको अध्यक्ष शाहीले स्वीकार गर्नुभयो ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर यात्रुको नाम, ठेगाना र सम्पर्क नं समेत प्रष्ट लेख्नु पर्नेमा यातायात व्यवसायीले प्रष्ट नगरी दिँदा कति यात्रु थिए स्पष्ट नभएपनि निवेदन परेका नाममाथि प्रहरीले अनुसन्धान थालेको बताउनुभयो । चलानी र टिकटमा प्रष्ट विवरण नखुलाएका बसलाई कडाइका साथ जाँच सुरु गरेको पनि उहाँले उल्लेख गर्नुभयोे ।
बसका सहचालक गजुरी–२ धादिङ घर भएका २० वर्षीय राजन पाण्डे बसमा सिटभन्दा बढी यात्रु नभएको बताउनुहुन्छ । तर १० जना बेपत्ता भएको निवेदन प्रहरीमा परेको छ । मृतकको सङ्ख्या २५ र घाइते १६ जना छन् । यो तथ्याङ्कलाई हेर्दा बसमा ५१ जना सवार रहेको देखिन्छ । यद्यपि प्रहरी, यातायात व्यवसायीमा यो विषयमा अन्योलमै छन् । रासस













प्रतिक्रिया