पथरी (मोरङ), १६ भदौ । मनमोहन पोलीटेक्निकल कलेजका विद्यार्थीले बिनाइन्धन धान पेल्ने थ्रेसर र सौर्य ऊर्जाबाट सिँचाइ गर्ने उपकरण बनाएका छन् । सो कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले सो उपकरण निर्माण गरेका हुन् ।
यी उपकरण मानिसको दैनिक जीवनमा निकै उपयोगी भएको विद्यार्थीले बताएका छन् । थ्रेसर निर्माण समूहका विद्यार्थी अमित साहले भने, “बिनाइन्धन परालबाट धान निकाल्ने यो मेसिनको काम हो ।” साह लगायतका विद्यार्थीको समूहले थ्रेसर बनाएको थियो । किसानले उत्पादन गरेको धान काटेपछि चुट्ने झन्झटबाट सो मेसिनले मुक्ति दिनेछ ।
मनमोहन पोलीटेक्निकल कलेजका प्रिन्सिपल डा सुभाष पोखरेलका अनुसार सरकारले विद्यार्थीलाई थप लगानी गरे अझै धेरै जीवन उपयोगी र प्रयोगात्मक उपकरण निर्माण गर्न सक्ने छन् ।
उनले भने, “विद्यार्थीको बलबुताले उपकरण बनाए, तर सरकारले विद्यार्थीले गरेको कामलाई सहयोग गरिराखेको छैन ।” उनका अनुसार सरकारले अझै सहयोग गर्ने हो भने बाहिरबाट खरिद गरेर आयात गरिने मेसिन यहीँ बनाउन सकिन्छ । रासस
















प्रतिक्रिया