११ कार्तिक २०८३, बुधबार

आखिर के थियो भारत पठाएको ‘गोप्य पत्र’मा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimlendra-nidhi_650x400_81471973579काठमाडौं, १४ भदौ । भारत र चीनमा विशेष दूतका रुपमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई पठाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको भनिएको ‘गोप्य पत्र’ विवादमा तानिएका छन् ।

द्वन्द्वकालमा पनि तत्कालिन भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीलाई गोप्य पत्र पठाएका प्रचण्ड अहिले यहि विषयमा माओवादीभित्रै विवादमा छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

भर्खरै एकता प्रक्रियामा आएका रामबहादुर थापा बादल पक्षले प्रचण्डसँग गोप्यपत्र बारे स्पष्टीकरण माग गरेको छ । निधिको हातमा थमाएर पठाएको पत्रबारे पार्टीमा जानकारी नगराइनु एकलौटी हिसावले चल्ने षडयन्त्र भएको भन्दै वादल निकट स्रोतले भन्यो,‘हामी एक पार्टी भएका छौं, पार्टीलाइृ जानकारी नदिई कुनैपनि पत्र पठाउने जिम्मा अध्यक्षको होइन उहाँ प्रधानमन्त्री भएपनि पार्टीको नीतिअनुसार सरकारमा बस्नुपर्छ ।’

माओवादी नेता देव गुरुङले पत्रबारे पार्टीमा जानकारी गराउनका लागि पटक–पटक भनेका थिए । तर, पेरिसडाँडामा त्यति नपुगेका प्रचण्डले बालुवाटारमा भने बादल समुहका नेताहरूलाई अहिले प्रवेश गराएपनि त्यति समय नदिएका कारण त्यसबारे त्यति बहस हुन नसकेको स्रोतको दाबी छ ।

‘यहि प्रकरणले पार्टी विवादमा आउँछ, विवादमा आउँदा हामी पनि बदनामीमा फँस्छौं भन्ने डर छ, यसबारे तुरुन्त जानकारी हुनुपर्छ’, माओवादी स्रोतले भन्यो ।

निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७ रेसकोर्स रोडमा भदौ ४ मा बुझाएको लिखित पत्रमा माफी मागेको र भारतले भनेअनुसार संविधान संशोधन हुने उल्लेख रहेको भारतीय मिडियाहरूले सार्वजनिक गरेका थिए ।

यसैको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा जवाफ पनि माग गरेको छ । ‘प्रचण्डको भर छैन, उनी गोप्य सहमति र पत्र पठाउन माहिर छन् । उनको राजनीतिक दाउपेचका कारण मुलुक संकटमा पर्न हुन्न’, स्रोतले भन्यो,‘गोप्य सहमतिमा झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने, सन् २००२ मा भारतका प्रधानमन्त्रीलाई पत्र लेख्ने काम भएकै हो, मोदीलाई पनि पठाइएको छ । यसको जवाफ पाउनुपर्छ ।’

त्यसो त पत्रसँगै प्रचण्डको मौखिक सन्देश लिएर माओवादी केन्द्रका नेता मातृका यादव पनि भारत पुगेका थिए । उनले भारतीय नेताहरूसँग भेट गरी प्रचण्डको सन्देश पु-याएको चर्चा छ ।

प्रधानमन्त्री भएलगत्तै ‘हिन्दुस्तान टाइम्स’ र ‘टाइम्स अफ इण्डिया’ लाई प्राथमिकतामा राखी अन्तवार्ता दिएका दाहालको अन्तरवार्ताको मुख्य सार थियो,‘पहिले गल्ती गरेँ, भारतीय चाहना पूरा गर्न सकिनँ । अव अनुभवी भएको छु, त्यस्तो गल्ती गर्ने छैन । एकपटकलाई अवसर पाउँ ।’ यहि आधारमा रहेर गोप्य पत्र लेखिएको स्रोतहरूको दाबी छ ।

१६ बुँदे राजनीतिक सहमति गरी संविधान जारी गर्ने बेलामा भारतीय विदेश सचिव एस जयशंकरलाई ढिलो आएको भन्दै संविधान जारी गरिने दाबी गरेपछि प्रचण्डसँग मोदी सरकार रुस्ट थियो ।

त्यसैको परिणामअनुसार एमाले अध्यक्ष केपी ओलीको सरकार निर्वाचित हुँदा पनि सुशिल कोइरालाको पक्षमा भारतले मतदानका लागि मधेसी मोर्चालगायतलाई दबाब दिएको थियो । त्यसैबेलाको घटनाक्रमलाई उल्लेख गर्दै माफी मागेर प्रचण्डले पत्र लेखेको बताइएको छ ।

प्रचण्डको पत्रबारे बिवादास्पद प्राध्यापक एसडी मुनीले ‘नेपाल इन ट्रान्जिसन’ भन्ने पुस्तक मार्फत तीन वर्ष अघि लेखेका थिए । त्यसैको निरन्तरताका रुपमा पत्र पठाइएको स्रोतले जनाइएको छ ।

यता प्रधानमन्त्री प्रचण्डले पत्र पठाएको स्वीकार गरेपनि त्यसमा कुटनीतिक मर्यादाका कुरामात्र रहेको दाबी गरेका छन् । तर, त्यसमा खास के लेखिएको थियो भन्ने सन्दर्भमा भने खुलेर कुरा गरेका छैनन् ।

स्रोतहरूका अनुसार प्रचण्डले उक्त पत्रमा नाकाबन्दि पछि राजनीतिक रुपमा मुलुकमा भारतविरुद्ध गरिएको प्रचारवाजीबारे माफी मागी आगामी दिनमा भारतपरस्त भएर अघि बढ्ने प्रतिबद्धता गरिएको छ । तर, बालुवाटार स्रोतले भने पत्रमा त्यस्तो केही नभएको दाबी गरेको छ । पत्र सामान्य औपचारिकतामा आधारित रहेको स्रोतको दाबी छ ।

समकालीन राजनीति र कुटनीतिमा सबैभन्दा अस्थिर र अपत्यारिलो छवि बनाएका दाहालले मोदीलाई पठाएको पत्रमा संविधान संशोधन लगायतका राजनीतिक बिषय नभएको दाबी गरेका छन् । परराष्ट्र सचिवले ड्राफ्ट गरेको कुटनीतिक पत्रमात्र भएको स्पष्टीकरण उनले दिएका हुन् ।