
काठमाडौँ, १३ भदौ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सक्रियतामा आज गरिएको अनुगमनमा विभिन्न पससलमा सिलबन्दी र सामान जफत गरिएको छ ।
व्यवसाय नवीकरण नगरेको जनाउँदै प्रकाश पोलिक्लिनिक प्रालि टेकु र टेकु ल्याब प्याथोलोजीलाई सिलबन्दी गरी कारबाहीका लागि विभागमा बोलाइएको छ । त्यसैगरी प्रकाश फार्मेसिया टेकु, तिवारी मेडिकल हल कुलेश्वर र निलम औषधि घर त्रिपुरेश्वरलाई पनि बिलको ढाँचा बनाउन, शृङ्गारिक सामान र औषधि फरक फरक स्थानमा राख्न निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी निरीक्षक अधिकृत ढुण्डीराज पोखरेलका अगुवाइमा काठमाडौँको कोटेश्वर क्षेत्रका १२ खाद्यान्न पसलमा गरिएको अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नभएको, लेबल नभएको, नापतौल यन्त्र प्रमाणीकरण नगरिएको र केहीको व्यवसाय दर्ता समेत नगरेको पाइएको छ । यी सबै पसलका सञ्चालकलाई तीन दिनभित्र सबै काम सम्पन्न गरी विभागमा आउन निर्देशन दिइएको छ ।
संस्था दर्तासम्बन्धी कागजपत्र प्राप्त नभएपछि नेपाल चौपाया खरिद बिक्री सहकारी संस्था सतुङ्गल र किमाल फे्रस हाउस सतुङ्गललाई सात दिनभित्र दर्तासम्बन्धी कागजपत्र लिएर आउन निर्देशन दिइएको छ । मासुको मूल्यसूची नराखिएको, सूचनापाटी नराखिएको र नापतौल यन्त्र प्रमाणीकरण नगरेको पाइएकाले आशीर्वाद मासु पसल सतुङ्गल र प्राइम फुड एन्ड डेलिकेटेस नैकापलाई पनि सात दिनभित्र सबै काम सकी विभागमा आउन निर्देशन दिइएको छ ।
अनुगमनकै क्रममा बढी भाडा लिइएको र भाडा दर नराखिएको आरोपमा २८ सार्वजनिक सवारी साधनलाई कारबाहीका लागि ट्राफिक प्रहरीको जिम्मा दिइएको छ । रासस












प्रतिक्रिया