काठमाडौं, १३ भदौ । प्रधानसेनापति राजेन्द्र क्षत्री र संयुक्त राष्ट्रसंघ डिपार्टमेन्टका फिल्ड सपोर्टर अन्डर सेक्रेटरी जनरल हे अतुल खारेबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सोमबार जंगी अड्डामा भएको शिष्टाचार भेटवार्ताका क्रममा अतुल खारेसंग संयुक्त राष्ट्र संघको अनुरोधमा नेपाली सेनाले विश्व शान्तिको लागि पुर्याउँदै आएको बहु–आयामिक योगदानका विषयबस्तुहरु, आगामी दिनहरुमा गरिने सहयोग एवम् सहकार्यका क्षेत्रहरुलाई कसरी विस्तार गर्ने र नेपालमा शान्ति सुरक्षाको विद्यमान बस्तुस्थितिका सम्बन्धमा छलफल भएको थियो ।
त्यसैगरी, उहाँले द्वन्द्वग्रस्त मुलुकहरुमा परेको संकटको समयमा संयुक्त राष्ट्र संघलाई आवश्यक परेको फौज यथाशिघ्र खटाई विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाले खेलेको अग्रणी भूमिकाको लागि प्रशंसासहित विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो । खारे नेपाल भ्रमणको लागि आइतबार आई पुग्नु भएको थियो ।
नेपाल बसाईको क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, परराष्ट्र मन्त्री, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक एवं सशस्त्र प्रहरी महानिरीक्षकसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
खारे नेपाल भ्रमण सम्पन्न गरी मंगलबार फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया