३१ आश्विन २०८३, शनिबार

ओली र प्रचण्डबीच फेरि सुरु भयो आरोपप्रत्यारोप

12.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli_Prachand-Breakup

काठमाडौं, ११ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि आरोपप्रत्यारोप सुरु भएको छ ।

झण्डै १० महिना मिलेर सरकार चलाएका ओली र प्रचण्डको सम्बन्धमा पछिल्लो समय दरार उत्पन्न भएको छ । खासगरी ओली नेतृत्वको सरकार माओवादी केन्द्रले ढालेपछि ओली र प्रचण्ड आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

यसअघि एमाले र माओवादीको सरकार गठन हुनुभन्दा पहिला पनि दुई नेताबीच आरोपप्रत्यारोपको श्रृंखला उत्कर्षमा पुगेको थियो ।

घटना एकः

ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव दर्ता गराए । प्रस्तावकको हैसियतमा बोल्दै प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाए । उनले ओलीजीले संघीयता, गणतन्त्र र संविधान नचाहेको बताए । त्यतिमात्रै होइन् राजसंस्थाको पक्षमा रहेका शक्तिसँग ओलीको साठगाठ रहेको आरोप पनि लगाए । जबकी पञ्चायत र राजतन्त्रविरुद्ध ओली १४ वर्ष जेल बसेका थिए । सम्बोधनका क्रममा प्रचण्डले ओलीमाथि थुप्रै आरोप लगाए ।

घटना दुईः

अविश्वासको प्रस्तावमाथि मतदान हुने दिन प्रधानमन्त्रीको हैसियतमा ओलीले संसदलाई सम्बोधन गरे । उनले प्रचण्डलाई खासै गम्भीर आरोप त लगाएनन् तर, आफूमाथि लगाएको आरोपको खण्डन गरे । राजसंस्था चाहने शक्तिसँग साठगाठ गरेको आरोपको खण्डन गर्दै उनले म जेलमा हुँदा कुन स्कुलमा पढ्दै थियौ भनेर प्रचण्डलाई उल्टै प्रश्न गरे । उनले सरकार ढाल्ने कुनै कारण नभएपनि सत्ता प्राप्तिकै लागि माओवादीले साथ छाडेको सान्दर्भिक आरोप लगाए । उनले आफूले ल्याएका योजना के हुन्छन्, नेपाल आफैले बनाउने फास्ट ट्रयाक के हुन्छ भनेर प्रचण्डसँग जनताले सुन्नेगरी जवाफ मागे । त्यसपछि उनले राष्ट्रपति समक्ष राजीनामा दिएको जानकारी गराए ।

घटना तीनः

ओलीले राजीनामा दिएपछि प्रधानमन्त्रीका उम्मेदवार थिए प्रचण्ड । साथै अविश्वासको प्रस्तावका प्रस्तावक पनि थिए उनी । ओलीले पदबाट राजीनामा दिएपछि प्रस्तावक प्रचण्डले अविश्वासको प्रस्ताव फिर्ता लिने क्रममा ओलीमाथि फेरि गम्भीर आरोप लगाए । झण्डै एक घण्टाको भाषणमा उनले अधिकांश समय ओलीमाथि आरोप लगाउनमै खर्चिए । द्वन्द्वकालिन मुद्दा ब्युताएर माओवादी नेताहरुलाई जेल हाल्ने षडयन्त्र ओलीले रचेको, एकलौटी हिडेको, संविधान कार्यान्वयन गर्न नचाँहेको जस्ता कैयौ आरोप त्यो दिन प्रचण्डले ओलीलाई लगाए । साथै रेलमार्ग, घरघरमा पाइपबाट ग्यास, फास्ट ट्रयाक जस्ता परियोजना हामी बनाउँछौं तर, स्रोत देखाइदिनुस्, पैसा कहाँबाट ल्याउने भनेर ओलीलाई प्रश्न पनि गरे । उनले पैसा र स्रोतविना विकास नहुने संकेत गरे ।

घटना चारः

राजीनामा दिएको भोलिपल्ट ओलीले दिउँसो सरकारी निवास बालुवाटार छाडे । उनलाई समर्थकले भव्य स्वागत गरी अपराह्न निजी निवास बालकोटसम्म पुगाए । बालकोट पुगेपछि ओलीले समर्थकलाई सम्बोधन गर्दै धन्यवाद दिए । र, स्रोत देखाइदिनुस् भन्ने प्रचण्डलाई जवाफ दिँदै ओलीले योजना र तयारीका साथ सुझाव माग्न आए स्रोत देखाइदिने बताए ।

घटना पाँच:

प्रधानमन्त्री भएलगत्तै प्रचण्डले मिडियाका सम्पादकहरुलाई बालुवाटार बोलाए । उनले ओलीकै कारण सरकार परिवर्तन भएको आरोप लगाए । त्यतिमात्रै होइन् स्थानीय निर्वाचन गर्न नचाहेको, संविधान कार्यान्वयन गर्न नचाँहेको र देशलाई अनिश्चिततातिर लैजान खोजेपछि आफूले ओलीको साथ छाडेको आरोप लगाए । उनले अहिले पनि एमालेले संविधान कार्यान्वयन नचाहेको, परिवर्तन नचाहेको आरोप लगाए । बालुवाटारमा प्रचण्डले ओलीमाथि एक दर्जन आरोप लगाएको कुरा विभिन्न सञ्चारमाध्यममा आयो ।

घटना छ:

एमाले अध्यक्ष ओली विहीबार उपचारका लागि थाइल्याण्ड प्रस्थान गरे । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले प्रचण्डमाथि गम्भीर आरोप लगाए । प्रचण्डले साँचो बोल्ने नैतिक बल गुमाइसकेको उनको आरोप थियो । झुटा बोल्ने व्यक्तिमाथि धेरै टिप्पणी गर्न नचाँहेको उनले बताए । मधेसी मोर्चाले भनेअनुसार संविधान संशोधनको तयारीमा रहेका प्रचण्डलाई ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने भन्दै अन्यथा कुनैपनि हालतमा एमालेले साथ नदिने स्पष्ट पारे ।

माथिका घटनाअनुसार फेरि ओली र प्रचण्डबीच आरोप प्रत्यारोपको श्रृखला सुरु भएको छ । उपचार गरेर विदेशबाट ओली फर्किएपछि यो श्रृखला घट्छ वा बढ्छ त्यो हेर्न बाँकी नै छ ।