११ कार्तिक २०८३, बुधबार

अध्ययन गर्न विदेश गई बेपत्ता भएका सरकारी कर्मचारीलाई कारबाही सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १० भदौ । सरकारी कोटामा विभिन्न देशमा अध्ययन गर्न गई उतै बेपत्ता भएका सयौँ कर्मचारीमध्ये २३ जनामाथि कारबाही प्रक्रिया सुरु भएको छ ।

सामान्य प्रशासन मन्त्रालयको सर्च टोलीले झन्डै ६ महिनाको गृहकार्यपछि अहिलेसम्म भगौडा २३ जना कर्मचारीको विवरण पत्ता लगाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

विदेशमै बेपत्ता हुने कर्मचारीमाथि निजामती सेवा ऐनअनुसार बर्खास्त गर्ने र हालसम्म सरकारबाट लिएको रकम असुलउपर गर्ने गरी कारबाही प्रक्रिया थालिएको हो ।

सरकारी कोटाबाट अध्ययन बिदामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, मलेसिया, बेलायतलगायतका देशमा गएका कर्मचारी उतै बेपत्ता भएका हुन् ।

विभिन्न मन्त्रालयमातहत रहेर विदेश गएका अन्य कर्मचारीबारे खोजी क्रम जारी रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झन्डै ८३ हजार कर्मचारीमध्ये पाँच सयदेखि हजारभन्दा बढी कर्मचारी निजामती सेवा ऐन र नियमावलीलाई चुनौती दिँदै विदेशमै लुकेका हुन् ।

सामान्यले विदेशमा पढाइ सकेपछि स्वदेशमै आएर काम गर्ने कबुलियत गरेर विभिन्न देश गएका कर्मचारी उतै बेपत्ता हुने क्रम बढेपछि उनीहरूबारे खोजी गर्न विभिन्न सर्च टोली बनाएको थियो ।

विदेश लुक्ने कर्मचारीको संख्या ठूलो भए पनि विभिन्न मन्त्रालयले कर्मचारीको विवरण नै लुकाउने गरेकाले खोजी गर्न कठिन भइरहेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

सरकारी सुविधामा वर्षौँसम्म विदेश अध्ययन गर्न गएकाहरू हराउने प्रवृत्ति बढेपछि सरकारले त्यस्ता कर्मचारीको खोजतलास थालेको हो ।

तर, सरकारी खोलतलास अभियान खासै प्रभावकारी बन्न सकेको छैन । सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माले विदेशमा बेपत्ता भएका कर्मचारीको खोजतलास गरी कारबाही प्रक्रियालाई अब तीव्र पारिने जानकारी दिए ।

फर्केर राष्ट्रको सेवा गर्ने कबुलियत गरेर सरकारकै कोटामा विदेश जाने, तर उतै बेपत्ता हुने कर्मचारीलाई भविष्यमा सरकारी नोकरीबाट अयोग्य नहुने गरी बर्खास्त गर्ने प्रक्रिया थालिएको सचिव शर्माले जानकारी दिए ।

आफ्नो मन्त्रालयमातहतका त्यस्ता कर्मचारीलाई कारबाही गर्ने जिम्मेवारी मन्त्रालयको नेतृत्वको भएकाले त्यसका लागि परिपत्र गरिएको उनको भनाइ छ ।