बर्दिवास, ९ भदौ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मुलुकको संविधान जनताको आवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले मधेसवादी दलको इशारामा संविधान संशोधन गर्ने तयारी गरेका बेला खनालले अध्यक्ष केपी शर्मा ओलीकै अडान दोहोर्याउनुभएको हो ।
महोत्तरीको बर्दिवासमा आज साँझ कार्यकर्तासँगको भेटघाटमा पूर्वप्रधानमन्त्री खनालले मुलुकको संविधानप्रति गर्व गर्न सक्नुपर्नेमा केही दल संविधानको धज्जी उडाउन लागिपरेको आरोप लगाउनुभयो ।
अहिले पछिल्लो पटक काँग्रेस माओवादी गठबन्धन र मधेसवादी दलबीच भएको तीनबुँदे सहमति संविधान संशोधनका लागि नभएर सत्ता आरोहणको अभ्यास मात्र रहेको विचार उहाँले व्यक्त गर्नुभयो ।
सरकारले तोकिएकै समयमा निर्वाचन गराउनेमा आशङ्का बढाएको खनालको भनाइ थियो । रासस













प्रतिक्रिया