१९ कार्तिक २०८३, बिहिबार

फोनिज अध्यक्ष गुरुङको पहलमा जन्मँदै ट्युमर भएका नाबालकको उपचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Help-childकाठमाडौं, ९ भदौ । सिन्धुली कपिलाकोट–८ भुताहाका बुद्धराज स्याङ्तानका ट्युमरबाट पीडित नाबालाक छोराको उपचारमा सहयोग जुट्न थालेको छ ।

जन्मँदै ट्युमर देखिएपछि बुद्धराजका छोराको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । साउन ३१ गते सिन्धुली जिल्ला अस्पतालमा जन्मिएका बालकको काँध र पेटमा ट्युमर देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

उपचारमा आर्थिक अभाव भएपछि बच्चाको उपचारका लागि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०का अध्यक्ष डण्ड गुरुङले सहयोगका लागि आव्हान गर्नुभएको थियो । सोही आव्हान अनुसार शेर्पा सञ्चार समूहका निवर्तमान अध्यक्ष डोमा शेर्पाको पहलमा प्राप्त भएको ६७ हजार रुपैयाँ हस्तान्तरण भएको छ ।

इजरायलमा रहनुभएका पासी शेर्पाले ५१ हजार ५ सय रुपैयाँ, अमेरिकामा रहनुभएका कर्साङ शेर्पाले १५ हजार रुपैयाँ र काठमाडौंका मनिष्मा सुनुवारले ५ सय रुपैयाँ उपचारका लागि सहयोग उपलव्ध गराउनुभएको थियो । सो रकम फोनिजका अध्यक्ष गुरुङ र शेर्पा सञ्चार समूहका निवर्तमान अध्यक्ष शेर्पाले बुद्धराज र उनका आमा सेतीमाया स्याङ्तानलाई अस्पतालमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।

आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या परेको जानकारी सिन्धुलीबाट पत्रकार मिनकुमार दाहालले गराएको र आफूले पहल थालेको बताउँदै फोनिजका अध्यक्ष गुरुङले मानवीय सेवामा सघाउनु हुने सबैमा धन्यवाद दिनुभयो ।

सहयोग रकम पाएपछि खुशी हुँदै सहयोगी सबैमा बुद्धराजले धन्यवाद दिनुभएको छ । अझै उपचारका लागि कति खर्च लाग्छ भन्ने विषयमा अस्पतालले पनि कुनै जानकारी दिएको छैन । चिकित्सकहरुले उपचार गर्दै जाऔं भनेर आफूहरुलाई जानकारी गराएको बुद्धराजले बताउनुभयो ।

नाबालकको आमा साथमा छैनन, आमा टिकामाया अझै सिन्धुली अस्पतालमै उपचाररत छन् । अपरेशन गरेर बच्चा निकालिएकाले उपचार भइरहेको बुद्धराजले जानकारी दिनुभयो । निको हुनासाथ आमालाई पनि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

बच्चाको अपरेशन भइसकेको छ । बच्चालाई अहिले आइसीयुमा राखेर उपचार जारी छ ।