२ कार्तिक २०८३, सोमबार

जुम्लाबाट दुई सयभन्दा बढी मेट्रिक टन स्याउ निर्यात

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apple-jumla

– मानदत्त रावल

जुम्ला, ८ भदौ । भदौ महिनाको पहिलो साता भित्रै जुम्लाबाट दुई सय १७ मेट्रिक टन स्याउ निर्यात भएको छ । स्याउ किसान तथा व्यापारीहरुलाई भाद्र दोस्रो सातासम्म स्याउ नटिप्न, बिक्रीवितरण नगर्न जिल्ला कृषि कार्यालय जुम्लाले सूचना गरेपनि अहिले नै दुई हजार १७८ क्वीन्टल स्याउ जुम्लाबाट निर्यात भईसकेको छ ।

निर्यातित स्याउ नेपालका प्रमुख व्यापारिक शहरहरु सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौ र विराटनगरमा पुगिसकेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी बालकराम देवकोटाले जानकारी दिए । यसवर्ष स्याउ उत्पादनमा निकै गिरावट आएको र अहिले नै प्रति के.जी. रु.४० देखि ५० रुपैयाँमा कारोवार भइरहेकोले पछि झनै महङ्गिने डरले स्याउ निर्यात चाँडो भएको हुनसक्ने सूचना अधिकारी देवकोटाले बताए । स्याउ उत्पादन गर्ने किसानहरुले भने राम्रै आम्दानी हात पार्न सफल भएको उनको भनाई रहेको छ ।

कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक खेमराज शाहीले जुम्लाको पटमारा गाविस उर्थुका किसानहरुले भाद्र १५ गतेपछि मात्र स्याउ टिप्ने योजना बनाएको बताए । उनले भने, उर्थुका किसानहरुले स्याउको रंग सहि र त्यसको गुलियोपन ध्यान दिएका छन् । फलस्वरुपः उनीहरुले उत्पादन गरेको स्याउले राम्रो बजार पाउने प्रा.स. शाहीको आंकलन छ । उनले जिल्ला कृषिबाट सिफारिस लिएका ४७ जनाले निर्यात गरेको झण्डै दुई हजार २०० क्वीन्टलको अभिलेख कृषिमा भएपनि व्यक्तिगत रुपमा लिनेहरुको हिसाब गर्दा सो परिणाम भन्दा बढी नै निर्यात भईसकेको जनाए ।

तातोपानी २ राँकागाउँका स्थानीय स्याउ व्यापारी मुनबहादुर कठायतले सुर्खेतमा दुई–चार दिन अघि प्रति केजी रु.७० मा बिक्रीवितरण गरिएको त्यही माल अहिले रु.६५ मा बेच्न बाध्य हुनुपरेको दुखेसो व्यक्त गरे । त्यसो हुनुको प्रमुख कारण स्याउ व्यापारीहरुले विना योजना स्याउ लिएर सुर्खेतमा थुपार्नु हो उनले भने । स्याउ कृषक दलबहादुर खड्काले व्यापारी सबैले एउटा सिष्टमबाट स्याउ बाहिर निकासी गर्न सकेमात्र जुम्ली व्यापारीको हित हुने बताए ।

गुणस्तर विनाको स्याउ हतार हतारमा तल झार्न, जबरजस्ती बिक्री गर्न खोज्नु, गुणस्तरीयतामा ध्यान नदिनु र धेरै भन्दा धेरैले व्यापार गर्न खोज्नुले यो समस्या आएको हो, कृषक खड्काले भने । उनका अनुसार यस प्रकारको अस्वस्थ प्रतिस्पर्धाले कोही कसैको प्रगति हुन सक्दैन । आगामी दिनमा जुम्लाको प्राङ्गारिक स्याउको निर्यात, त्यसको बिक्री वितरण, व्यवस्थापन र किसान एवम् व्यापारीहरुको हितार्थ एउटा निश्चित मापदण्ड तयार गर्नुपर्ने स्थानीयले सुझाएका छन् ।