काठमाडौँ, ७ भदौ । नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाई काठमाडौँ महानगरपालिका–१६ बस्ने ६९ बर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुशीबु टाउन प्लानिङ बस्ने ५६ बर्षीय मोहम्मद बसिमलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७२ माघ ४ गतेको फैसलाले उनीहरुलाई जनही १ वर्ष कैद र ७ लाख ३१ हजार रुपैयाँ जरिवाना हुने सजाय भएको र उक्त कैद तथा जरीवाना वेरुजु भई फरार रहेका उनीहरुलाई प्रहरीले मंगलबार नयाँबजारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।
उनीहरुले रगतको साइनो नभएकी तर आफूहरुलाई पालन पोषण गर्ने अमिला विविको शेष पछिको हकदार हामी हौ भनेर अमिला विबी र दिवर वज्यु नामका दुई फरक व्यक्ती एकै हुन् भनी झुठा ब्यहोराका नक्कली मृत्यु दर्ता र नाता प्रमाणित समेतका कागजातहरु बनाई अमिला विबीको नाममा दर्ता स्रेस्ता कायम रहेको साङ्गला गाविस–९(ग) कि.नं.११९ क्षेत्रफल २–११–३ जग्गा जाल परिपञ्च गरी २०६३ साल मंसिर महिनामा आफ्ना नाममा नामसारी गराई ४ लाख ७० हजार रुपैयाँमा बिक्रि गरी प्राप्त रकम आधाआधा बाँडी लिई ठगी गरेका थिए ।
पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार, सुन्धारामा पठाइएको छ ।












प्रतिक्रिया