जाजरकोट, ७ भदौ । निष्क्रिय अवस्थामा रहेका जाजरकोट, सुर्खेत र दैलेखका गरी ५३ सहकारी संस्था खारेज भएका छन् ।
डिभिजन सहकारी कार्यालयका अनुसार आव २०७२-७३ मा सुर्खेतका २३, दैलेखका १४ र जाजरकोटका १६ सहकारी खारेज भएका हुन् । डिभिजन सहकारीमा वार्षिक प्रतिवेदन नबुझाउने, लेखापरीक्षण नगराउने, साधारणसभा नगर्ने र डिभिजन सहकारीमा प्रतिवेदन नबुझाउने संस्थालाई खारेज गरिएको डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत देवीप्रसाद पौड्यालले बताउनुभयो ।
खारेज गर्नु पूर्व कार्यालयले सहकारीलाई जानकारी गराउने, सार्वजनिक सूचना गर्ने र तोकिएको समयमा सम्पर्कमा नआए पुनः ३५ दिने सूचना जारी गर्ने र त्यति गर्दा पनि सहकारी संस्था सम्पर्कमा नआए खारेज गर्ने प्रावधान रहेको छ ।
गत आवमा सुर्खेतमा १२, जाजरकोटमा २६ र दैलेखमा १४ वटा नयाँ सहकारी दर्ता भएका छन् । तीन जिल्लामा हाल विभिन्न प्रकृतिका गरी एक हजार ५७ सहकारी संस्था छन् । सुर्खेतका ६१० सहकारीले गत आवमा रु ५१ करोड ४५ लाख ३४ हजार सेयर पुँजी, रु एक अर्ब ३३ करोड ६८ लाख ४५ हजार बचत सङ्कलन र रु दुई अर्ब ५१ करोड १४ लाख ८४ हजार लगानी गरको डिभिजन सहकारी कार्यालय सुर्खेतले जनाएको छ ।
गत आवमा ४८९ सहकारी संस्थाले लेखापरीक्षण स्वीकृति लिएकामा ३०२ सहकारीले मात्रै डिभिजन सहकारीमा प्रतिवेदन बुझाएका छन् । साधारणसभा भएको १५ दिनभित्र डिभिजन सहकारीमा प्रतिवेदन नबुझाउने सहकारी संस्थालाई रु एक हजार ५०० सम्म जरिवाना गर्ने प्रावधान छ । महिलाद्वारा सञ्चालित सहकारी अन्य सहकारीभन्दा बढी क्रियाशील रहेको पाइएको छ । तीन जिल्लामा १२३ सहकारी संस्था महिलाले सञ्चालन गरेको पाइएको छ । रासस
















प्रतिक्रिया