१ कार्तिक २०८३, शनिबार

सीमा क्षेत्रमा फस्टायो कालोबजारी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwa-rupandehi

– नरेश केसी

भैरहवा, ६ भदौ । सीमावर्ति क्षेत्रमा अहिल निर्माणका सामग्रीमा कालोबजारी फस्टाएको छ । जसको कारण सामन्य उपभोक्ताको ढाडैं सेकिएको छ । व्यापारीले कालोबजारी मात्रै गरेका छैनन, गुणस्तरहीन सामग्रीको विक्रीवितरण समेत अबैध तरिकाले गरिरहेको छ ।

ठूला ठूला राष्ट्रिय एवं स्थानिय योजना तथा परियोजनाहरु ठेकेदार मार्फत गरिने हुदां लागत मूल्य बढेको भन्दै माग दाबी गर्नेगरी काम भइरहेको भएता पनि व्यक्तिगत निर्माण कार्य भने अत्यन्तै प्रभावित भएको छ ।

भुकम्प पछिको पुर्न निर्माणमा सरकारले झन सहूलियत दिएर निर्माण कार्यलाई तिब्रता दिने जनाएता पनि त्यसको विपरित अहिले काम भइरहेको छ । मुलुकमा व्यक्तिगत प्रयोजनकोलागी आवास तथा विभिन्न संघसंस्थाको कार्यलयहरु द्रुततर गतिमा बनिरहेका छन् । तर निर्माण सामग्रीको अभाव सृजना गरी राज्यले नै कालोबजारी गर्नमा प्रोत्साहन गरेको देखिएको छ ।

निर्माणको आधारभुत पदार्थ छड, ढुंगा गिट्टी बालुवामा अहिले छयाप्छप्ती कालोबजारी भइरहेको छ । ठूला आयोजना र परियोजनामा ल्याब परिक्षण गरिने भएता पनि सामन्य व्यक्तिगत आवसमा त्यस्तो प्रचलन नहुदां व्यवसायीले खुलेआम उपभोक्ता ठग्ने मौका पाएका छन् । अहिले बजारमा एकातिर गुणस्तरहीन निर्माण सामग्री विक्रीवितरण भइरहेको छ भने मूल्य पनि मनपरी छ ।

फुटपाथमा ढुंगा गिट्टी बालुवाको व्यापार

रुपन्देही जिल्लामा यहि साउन १ गतेदेखी लागु हुनेगरी पुर्ण रुपमा ढुंगा गिट्टी बालुवाको उत्खनन र क्रसरबाट विक्री वितरणमा जिल्ला विकास समिती रुपन्देहीले रोक लगाएको छ । नवलपरासीमा केही दिन अघिदेखी सोही प्रकृतिको नियम लगाइएको छ । जसको कारण निश्चीत र सीमित योजनाका साथ निर्माण कार्य अगाडी बढाएका उपभोक्ताहरु अहिले समस्यमा परेका छन् । बजारमा ढुंगा गिट्टी बालुवा पाउन छाडेको त छैन तर त्यसको भाऊ सय गुना बढी छ । क्रसर तथा खोला खुल्दा बढीमा ६ हजार मूल्यमा एक ट्याक्टर पाइने ढुंगा गिट्टी बालुवाको मूल्य अहिले बढेर १२ हजार सम्म पुगेको छ । खोला खुल्दा ल्याएर डम्पींग गरी राखेका ढुंगा गिट्टी बालुवाको अबैध ब्यापार अहिले रुपन्देही , नवलपरासीमा अत्यन्तै फस्टाएको छ ।

रुपन्देहीको बनगाई, लुम्बिनीरोड, सुगरमिल, बसन्तपुर क्षेत्रको मुख्य सडक खण्डको दायाबांया टेन्ट टांगेर ढुंगा गिट्टी बालुवाको पसल सन्चालन भइरहेका छन् । बस्तीको वास्तै नगरी सबै किसीमको मापदण्डलाई उल्घंन गर्दै ती सडकमा ढुंगा गिट्टी बालुवाको कालोबजारी हुदां समेत प्रशासन र नियमक निकाय भनै मौन बसेको छ । मुख्य सडकको छेऊमा जथाभावी ढुंगा गिट्टी बालुवाको ब्यापार राख्दा एकातिर सवारी आगवमनमा समस्या सृजना भएको छ भने अर्कोतिर बातवरण पनि अत्यन्तै प्रदुषित भइरहेकोछ । जथाभावी ढुंगा गिट्टी बालुवाको लोड अनलोड भइरहदा प्रदुषणको कारण मानवीय स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । व्यापारीहरुले कयौंले दर्ता विना नै ढुंगा गिट्टी बालुवाको ब्यापार गरिरहेका छन् । दर रेट पनि मनपरी लगाउने गरेका छन् ।

गुणस्तरहीन भारतीय छडको विगविगी

कम लागतमा उत्पादन हुने गुणस्तरहीन भारतीय फलामें डण्डीले सीमावर्ति बजार कब्जा गर्दा स्वदेशी उद्योगहरु धरापमा पर्न थालेका छन् ।

आजभोली रुपन्देहीको भैरहवा बुटवल र लुम्बिनी, नवलपरासीको परासी, भूमही, कपिलवस्तुको तौलिहवा, चार नम्बर, चन्द्रौटा जस्ता मुख्य बजार मात्रै नभएर भित्री बजारका हार्डवेयर पसलहरुमा पनि भारतीय छडहरुको खचाखची भएको छ । भारतका विभिन्न शहरमा विना मापदण्ड उत्पादन हुने फलामें डण्डीको कारण अहिले ती हार्डवेयर पसलले सस्तो दरमा पाइने छड ल्याई नेपाली छडकै मूल्यमा उपभोक्तालाई विक्री वितरण गर्ने गरेको देखिन्छ ।

यस्तो कामको नेतृत्व रुपन्देहीको एक उद्योगले गर्नेगरेको बुझिएको छ । रुपन्देहीको गोयन्का स्टिलले भारतबाट छड आयत गरी सो छडमा आफ्नो टयाग लगाएर बेच्ने पाइएको छ । मार्केटेड बाई गोयन्का स्टिल भन्ने टयाग लगाएर भारतको गुणस्तरहिन छड विक्री वितरण भइरहेको छ । नेपालको छडको ग्रेड ५ सय हुने गरेकोमा भारतीय छड साढे ३ सय ४ सय हुने गरेको छ । त्यस्तो छडमा पनि गोयन्काले मार्केटेड बाईको नाममा गुणस्तरहिन छड विभिन्न हार्डवेयर मार्फत विक्रीवितरण गर्नेगरिरहेको छ । भारतीय छडमा टयाग लगाएर विक्रीमा राखिएको छड भैरहवाको हार्डवेयरहरुमा छयाप्छप्ती पाउन सकिन्छ । सो छड उपभोक्ताहरुले गोयन्का स्टिलको छड भनेर किन्ने गरेका छन् । यसरी भारतीय छडमा आफ्नो टयाग लगाएर बेच्नु गैर कानुनी भएको सिद्धार्थ निर्माण सामग्री एशोसियसनका वरिष्ठ उपाध्यक्ष राजेश खरेल बताउंछन् । यस क्षेत्रकै सबैभन्दा ठूलो हार्डवेयर सिद्धार्थ हार्डवेयरका सन्चालक मनिस रुंगटाले गुणस्तरहीन भारतीय छडको कारण स्वदेशी छड विक्री वितरणमा समस्या परेको बताए । भारतीय छड सस्तो हुने हुदां उपभोक्ताले गुणस्तर भन्दा मूल्य सोधेर किन्ने गर्दा समस्या परिरहेको जनाए ।

यता गोयन्का स्टिलका सन्चालक रामगोपाल गोयन्काले भने आफुहरुले गुणस्तर चेकजांच गराएर मात्रै भारतीय छडमा गोयन्सका स्टिलको टयाग लगाई बेच्ने गरेको बताए । उनले भने “हामीले उपभोक्ता ठग्ने इन्टेनशनले काम गरेका छैनौं । हो हामीले भारतबाट छड आयत गरेका हौ, केही दिनमा अरु पनि आउदैं छ तर प्रक्रिया पुराएर गरेका छौं ।” सन्चालक गोयन्काले भारतीय छडमा गोयन्का स्टिलको टयाग बेचेको वा नबेचेको भन्दा पनि बरु आफुहरुले छड अभावको बेला जनतालाई सहयोग गरेको तर्क गरे ।

यसरी सीमावर्ति क्षेत्र नेपालका बजारहरुमा अहिले पनि गुणस्तरहिन भारतीय छडको विगविगी बढेर गएपछि अरबौं रुपैया खर्चेर उद्योग सन्चालन गरिरहेका स्वदेशी उद्योग सन्चालकहरु चिन्तीत भएका छन् । नेपाली छडको प्रायाप्त उत्पादन हुदाहुदैं केही उद्योग र हार्डवेयरहरुले अवैध ढंगले गुणस्तरहिन भारतीय छड विक्री वितरण गर्दा स्वदेशी उद्योग मारमा परेको भन्दै नेपाल रोलिंग मील एशोसियसनका अध्यक्ष धुव्र कुमार श्रेष्ठको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी ध्यानकर्षण समेत गराएका छन् ।

एशोसियसनले यस अघि पुर्व मन्त्री सोमप्रसाद पाण्डे र उद्योग विभागका उच्च स्तरीय कर्मचारीसंग बैठक समेत बसी गुणस्तरहिन भारतीय छड आयतमा रोक लगाउन आग्रह गरेका थिए । तर राजनितीक अस्थिरताको कारण भारतीय राजदुताबासको असन्तुष्टि हुने डरले सरकारले सो कदम चाल्न नसकेको उद्योगीहरु बताउंछन् । एक उद्योगीले भने “सरकार हाम्रा माग प्रति सकारात्मक छ तर भारतले आफ्ना उत्पादन किन रोकेको भनी असन्तुष्टि जनाउंछ की भन्ने डरले कडा कदम चाल्न सकेको छैन । ”

रुपन्देहीको भैरहवा भन्सार हुदैं आर्थिक वर्ष २०७२ । ०७३ को मसान्त सम्म करिब १ अरबको भारतीय छड आयत भएकोछ । यो दर नेपालको अन्य भन्सार नाकामा पनि रहेको छ । भारतीय छड विना मापदण्ड उत्पादन हुदैं आएको छ भने कच्चा पदार्थ पनि कबाडबाट लिने गरिन्छ ।

भारतीय छडको गुणस्तर अत्यनै न्यून भएकोले तत्काल आयतमा रोक लगाउन सरकारसंग आग्रह गरिएको नेपाल रोलिंग मील एशोसियसनका सदस्य हरि न्यौपाने जनाए । न्यौपानेले भने “नेपालमा भएका सबै छड उद्योगले वार्षिक ६ लाख मेट्रिक टन उत्पादन क्षमता राख्दछन् । जबकी यहां वार्षिक ५ लाख मेट्रिक टन मात्रै माग छ । यसर्थ माग अनुसारको पुर्ति सहजै भएको अवस्थामा बाहिरबाट छड मगाउनु जरुरी नै छैन । ”

नेपालमा विक्री वितरण भइरहेको भारतीय छडको गुणस्तर न्यून भएको नेपाल गुणस्तर विभागले समेत स्वीकारेको छ । विभागका प्रवक्ता रोनी मानन्धरले फोन सम्पर्कमा भनिन“ हामीले भारतीय छडको गुणस्तरमा कमी आएको भन्ने थाहां पाएपछि नेपालका सबै भन्सारलाई परिपत्र गरेका छौं, कि कुनैपनि छड नेपाल भित्राउदां गुणस्तर विभागको गुणस्तर मापन नहेरी अनुमति नदिनु भनेका छौं ।” गुणस्तर विभागको पत्र आएपछि अहिले पनि भैरहवा भन्सारमा सयौं टन छड थन्कीएर बसेको छ । जबकी यस अघि बग्रेल्ती दैनिक हजारौ टन भित्रिने गर्दथ्यो ।

गुणस्तर विभागले स्वदेशी छडको गुणस्तर कम भएमा विक्री वितरणमा रोक लगाउने र आवश्यक परे एन एस खारेज गर्ने अख्तीयारी प्राप्त गरेको भएता पनि अन्य देशबाट आयतीत समानको सन्दर्भमा जिल्ला अनुगमन कार्यालयले हेर्ने प्रवक्ता मानन्धरले बताइन् ।

नेपालमा सबैभन्दा बढी छड उत्पादन गर्ने जगदम्बा स्टिल सहित पन्चकन्या, एसआर स्टिल, अम्बे स्टिल, गोयन्का स्टिल, लक्ष्मी स्टिल, काठमाण्डौं स्टिल, हामा स्टिल लगायत १६ वटा छड उत्पादक उद्योगहरु रहेका छन् । पन्चकन्या, एसआर अम्बे, गोयन्का रुपन्देहीमा छन् भने काठमाण्डौं र लक्ष्मी नवलपरासीमा रहेका छन् । केही समय अगाडी लक्ष्मी स्टिलले पनि भारतीय छडमा आफ्नो उद्योगको टयाग लगाएर बेचेको थियो । लक्ष्मीले जस्तै अहिले गोयन्काले भारतीय छडमा आफ्नो टयाग लगाएर बेच्ने गरेको हार्डवेयर व्यवसायी नै बताउंछन् । उद्योगको अतिरीक्त केही व्यसायीले पनि भारतीय छड लिएर बेच्ने गरेका छन् । भैरहवाका व्यसायी नारायण बरई र अरुण गोयन्काले पनि भारतबाट छड आयत गरी नेपाली हार्डवेयरहरुलाई बेच्ने गरेको बुझिएको छ । अरुणले एभरेष्ट रोलिंग इन्डस्ट्रीजको नाममा हार्डवेयरहरुलाई भारतीय छड विक्री वितरण गरेका छन् भन् बरईले पनि ठूलै कारोबार गर्ने गरेका छन् ।

यहांका गणेश ट्रेडिंग, अष्टकालि हार्डवेयर नया सडक, ओमशिवशक्ति हार्डवेयर लुम्बिनीरोड, महाविर हार्डवेयर लुम्बिनीरोड लगायतले भारतीय छडको विक्री वितरणमा वर्चस्व जमाउदैं आएका छन् भन् जिल्लाका अन्य हार्डवेयरले पनि भारतीय छड विक्रीवितरण गर्ने गरेका छन् ।

भारतीय छड सस्तो भएता पनि अत्यन्तै गुणस्तर हिन हुने एसआर स्टिलका एमडि ई. सुरज उप्रेति बताउंछन् । उनी भन्छन् “पहिलो कुरा भारतीय छडको ग्रेड नै हुदैन । कुनैमा ४ सय , कुनैमा साढे ४ सय हुन्छ जबकी नेपालका सबै छडको ग्रेड ५ सय हुन्छ । दोस्रो भारतमा आफुखुसी विना मापदण्ड छड बनाइएको हुन्छ । तेस्रो भारतमा लागत दर कम पर्ने हुन्छ जसले नेपालका छडलाई मूल्यका दृष्टिले विस्थापीत गर्न सक्छ । र , चौथो उपभोक्ताले छडको गुणस्तर भन्दा भाऊ सोधेर किन्ने हुदां जुन सस्तो छ त्यहि छड किन्ने प्रचलनले नेपाली छड महंगो हुन जान्छ जसले भारतीय छड गुणस्तरहिन भएता पनि विक्री राम्रो छ । ”
अहिले बजारमा छडको मूल्य पनि आकाशिदों छ । साउनको २५ गते सम्म करबाहेक ५५ रुपैयां रहेको छड साउनको अन्तीम सम्म ५८ मा पुगेको थियो भने अहिले करबाहेक ६१ पुगेको छ ।

के भन्छन् त सरोकारवाला ?

विष्णुप्रसाद ढकाल
प्रमुख जिल्ला अधिकारी, रुपन्देही

Cdo-rupandehi

निर्माणका सामग्री ढुंगा गिट्टी बालुवा र छडमा कालोबजारी भएको सुन्नमा आएको छ । हामीले तत्काल यसको छानविन गर्दैछौं । कुनैपनि बहानामा उपभोक्ता ठग्ने छुट कसैलाई छैन । ढुंगा गिट्टी बालुवा जथाभावी अनुमति नल्याई सडक छेऊछाऊमा राखेर बेच्नै पाइदैन । प्रदुषण बनाउने र अनियन्त्रीत मूल्य राखेर बेच्ने सप्लायर्स होस् वा अन्य व्यक्ति त्यस्तालाई कारबाहि हुन्छ । यसैगरी छडको गम्भिर विषय उठाउनु भयो । मैले मिडीयाबाट थाहां पाए । हामी भुकम्प पछि पुनः निर्माणमा छौं यस्तो बेला राज्यले नै आम जनतालाई गुणस्तरीयतामा ध्यान दिन अपील गरेको छ । यो समयमा गुणस्तरहिन छडको विक्री वितरण गर्नु अक्षम्य अपराध हो । सस्तो मूल्य देखाएर गुणस्तरहिन भारतीय छड , त्यो पनि गलत ढंगले विक्री वितरण भएको सम्बन्धमा जिल्ला अनुगमन समितीले तत्काल खोजविन गरी दोषीलाई हदै सम्मको कारबाहि हुन्छ । उपभोक्ता हित संरक्षण ऐन भित्र रहेर हामी कारबाहि गर्छौं । कालोबजारी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर सजायको भागीदार बनाउछौं ।

धुव्र कुमार श्रेष्ठ
अध्यक्ष नेपाल रोलिंग मिल एशोसियसन

Dhurba kumar sthaअहिले मुलुक पुर्ननिमार्णको समयबाट अगाडी बढिरेहको छ । यस्तो बेला हामी उद्योगीले अत्यन्तै गुणस्तरयुक्त निर्माण सामग्री उत्पादन गर्न केन्द्रित भइरहेको छौं । तर केही उद्यमी तथा व्यवसायीले गुणस्तरहिन भारतीय छड ल्याई नेपाली उपभोक्तामाझं विक्रिवितरण गरेको देख्नमा आयो । यो अत्यन्तै गलत कार्य हो । यसले राज्यलाई दूरगामी असर पुराउछं ।

मान्छेले घर जीवनमा एकचोटी बनाउछ । हामीले यसै विषयमा चीन्ता जाहेर गर्दै राज्यका कार्यकारी प्रधानमन्त्री लगायत सम्बन्धित निकायको ध्यानकर्षण पनि गरायौं । केही उद्योगले भारतीय छडमा आफ्नो टयाग लगाएर बेचिरहेका छन् । यसरी बेच्ने हो भने किन उद्योग खोल्नु परयो । बाहिरबाट छड मगाउने अनि आफ्ना टयाग लगाउदैं बेच्दै गरे भैगयो नी ? हाम्रो आग्रह र अनुरोध छ, कुनैपनि बहानामा जनतालाई गुणस्तरहिन छड विक्री वितरण गर्नु हुदैंन । यसलाई नियमन गर्न राज्यले पहल गर्नुपर्छ ।

चन्द्रमणी अधिकारी(रामु)
सचिबः खानी तथा रोडाढुंगा उद्योग व्यवसायी महांसघ

ramu adhikari

अहिले स्थानिय निकायको जबरजस्तीपनका कारण नेपालका धेरै उद्योग धन्दा धरापमा परेका छन् । हामी क्रसर व्यवसायीहरु त अत्यन्तै पीडामा छौं । जिविस रुपन्देहीले साउन १ गतेदेखी रुपन्देहीका उद्योग बन्द गर्ने उर्दी जारी गरयो । नवलपरासीमा साउन २४ गतेदेखी बन्द गरियो, कपिलवस्तुमा भदौं १ गतेदेखी बन्द गरियो । मापदण्ड विपरितका नाममा अरबौं लगानीका उद्योग बन्द गर्ने काम स्थानिय जिविसले गरेको छ । माथिल्लो निकायले बन्द गर्न केही निर्देशन दिएको छैन तर जिविसले आफुखुसी बन्द गर्नेै आदेश दिइनुले जिल्ला विकास समिती आफ्नै नामबाट विमुख भएको देखिन्छ । कार्यलय विकास समिती भएता पनि विकासको मुख्य कच्चा पदार्थ ढुंगा गिट्टी बालुवा रोक्नुले विकास विरोधी भएन र ?

रुपन्देहीमा उद्योगहरु बन्द हुदा २ लाख घनमिटर, नवलपरासीमा ५ लाख र कपिलवस्तुमा १ लाख घनमिटर उत्पादीत सामग्री क्रसर भित्र जाम भएको छ । लाखौं लाख घनमिटर त्यत्तिकै थन्किएको छ, यता महंगो मूल्यमा उपभोक्ताले ढुंगा गिट्टी बालुवा किन्न बाध्य छन् । अब के भन्ने, यसरी के देश विकास हुन्छ । हामी व्यवसायीसंग ०७१ सालमा भएको सम्झौता अनुसार राज्यले खानी दिएर पुर्वाधार निर्माण गरिदिए त हामी स्थानान्तरण हुन तयार छौ नी । तर ठाऊ पनि नदिने, लाइसेन्स दिने, कर लिने अनि चलाउन नदिने यो गलत नीतिले देश विकासमा समस्या आएको छ । यहि मौकामा केही कालोबजारीयाहरुले मौकामा चौका हानिरहेका छन् । त्यसलाई राज्यले हेर्नुपर्छ ।