११ कार्तिक २०८३, बुधबार

भारतले दिने भनेको विद्युत अब नआउने ! प्रसारण लाइन निर्माणमा ढिलाइ

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sub Station Bijuliकाठमाडौं, ५ भदौ । विद्युत् प्राधिकरणले दुई प्रसारण लाइन र ढल्केबरमा २२०–१३२ केभी क्षमताको सबस्टेसन निर्माण गर्न ढिलाइ गरिरहेकाले मंसिरदेखि भारतबाट थप १५० मेगावाट बिजुली आयात हुनेमा शंका बढदै गएको छ ।

हिउँदमा लोडसेडिङ ७ घण्टामा सीमित गर्न ऊर्जा मन्त्रालयले भारतसित २०१७ जनवरी (मंसिर) देखि अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर हुँदै थप डेढ सय मेगावाट बिजुली आयात गर्ने सहमति गरिसकेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

नेपाल र भारतबीच ऊर्जा सचिवस्तरमा गत जुन महिनामा भएको वार्ताको सहमतिअनुसार भारतीय सरकारले थप डेढ सय मेगावाट बिजुली दिन लागेको हो ।

तर अन्तरदेशीय प्रसारण लाइनबाट ढल्केबर ल्याइने सबस्टेसन र चार्ज गरिएको बिजुली मुलुकको सबभन्दा ठूलो लोड सेन्टर (राजधानी) ल्याउने दुई प्रसारण लाइन निर्माण सकिने–नसकिने अनिश्चित छ ।

प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतबाट आउने बिजुली चार्ज गरी राजधानी पठाउन ढल्केबरमा २२०–१३२ केभी क्षमताको सबस्टेसन निर्माण गर्न लागेको दुई वर्ष बितिसक्यो ।

आयोजना प्रमुख, ठेकेदार र परामर्शदाताको लापरबाहीले अहिलेसम्म काम सुरु नै हुन सकेको छैन, जबकि भारतबाट अन्तरदेशीय प्रसारण लाइनबाट थप बिजुली ल्याउने भनी तय गरिएको समय आउन चार महिनामात्र बाँकी छ ।

आयातीय बिजुली चार्ज गर्ने सबस्टेसन कम क्षमताको र त्यहाँबाट पूर्वमा बिजुली लाने १३३ केभीका प्रसारण लाइन पुराना र कमसल खालका भएकाले हाल आयात भइरहेको ८० मेगावाटमध्ये ६ मेगावाटजति चुहावट भएर खेर गइरहेको छ ।

सबस्टेसन बन्न ढिलाइ भई थप बिजुली ल्याउन नसकिए हिउँदमा लोडसेडिङ दैनिक १२–१५ घण्टाभन्दा बढी पुग्ने प्राधिकरणका एक अधिकारीले बताए ।