काठमाडौं, ४ भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भारतले हेग देखाएर तर्साएपछि नेकपा माओवादी केन्द्रले एमालेको साथ छाडेको दाबी गरेका छन् ।
नेकपा एमाले गण्डकी अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी शक्तिले अन्तर्राष्ट्रिय अदालत जाने र द्वन्द्वकालिन मुद्दा उठाउने धम्की दिएपछि जतिखेर जेल जानसक्छौं भन्ने डरले माओवादी अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारको साथ छाडेको बताए ।
उनले ओली सरकार तीन कारणले ढलेको बताए । ‘प्रचण्डको महत्वाकांक्षी प्रबृत्ति, भारतले हेग देखाएर माओवादीलाई तर्साउनु र माओवादीले गरेको मानबताविरुद्ध चरम उल्लंघनकाविरुद्धमा डब्लूएचओ जेनेभाको प्रयोग गर्ने धम्कीका कारणले माओवादी डरायो र विदेशीकै डिजाइनमा सरकार फेर्यो ।’
लडाकु र अन्यमा गरेको भष्ट्रचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोगको डरको कारण पनि माओवादीले एमालेसंग सहकार्य तोडेको महासचिव पोखरेल बताए ।
अघिल्लो सरकार ०७४ माघसम्म एमालकै नेतृत्वमा चलाउने सहमति ओलीसँग माओवादीले गरेको खुलासा गर्दै उनले विभिन्न कारणले गठबन्धन अघि बढ्न नसकेको बताए । उनले भने- ‘माओवादी र विदेशीसहितको गठबन्धनले एमाले चाहेको थिएन् ।’
पार्टीका केही नेताहरुले सरकार सञ्चालनमा भद्र सहमति भएको भन्ने भनाईको खण्डन गर्दै महासचिव पोखरेलले भने ‘भद्र सहमति भयो भनेर पार्टीभित्रैबाट अपभंश गरियो । यो गलत हो । ओलीले राष्ट्रिय सहमतिको बाधक हुन्न भन्नुभएको थियो । तर, माओवादीलाई तर्साएर शक्ति केन्द्रले जसरी पनि गठबन्धन तोडे ।’
कार्यक्रमका प्रमुख अतिथिको आसनबाट समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारको समिक्षा र अबको बाटो विषयमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले केपी शर्मा ओली सफल प्रधानमन्त्री र मरेको राष्ट्रियता ब्यूझाएको बताए ।












प्रतिक्रिया